Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

काठमाडौं, ५ वैशाख २०८३ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा तीव्र वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।

शनिबार जारी विज्ञप्तिमा महासंघले कच्चा पदार्थ, ढुवानी र अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको असरका कारण उद्योग सञ्चालनमै कठिनाइ भएको जनाएको छ। बोतल, क्याप, र्‍यापिङ रोल तथा जारजस्ता सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको उल्लेख गरिएको छ। साथै डिजेलको मूल्यवृद्धिले ढुवानी खर्च पनि उल्लेख्य रूपमा बढाएको महासंघको भनाइ छ।

महासंघका अनुसार इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको अस्थिरताले अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको छ।

नेपालमा हाल ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा करिब १६ अर्ब रुपैयाँ लगानी रहेको र ३० हजारभन्दा बढीले रोजगारी पाएको महासंघले जनाएको छ। तर वर्तमान लागत वृद्धिका कारण उद्योगहरू संकटमा परेको महासंघको ठहर छ।
महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले यो निर्णय नाफाका लागि नभई बाध्यात्मक परिस्थिति भएको स्पष्ट गर्दै हालको मूल्यमा उत्पादन र वितरण असम्भव बन्दै गएको बताए।

महासंघले सरकारसँग उद्योगमैत्री नीति, कच्चा पदार्थ आपूर्ति सहज बनाउन कूटनीतिक पहल तथा ढुवानी लागत नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ। साथै उपभोक्ता र सरोकारवालालाई मूल्य समायोजन प्रक्रियामा सहयोग गर्न अपिल पनि गरिएको छ।

तपाईको प्रतिक्रिया