काठमाडौं, ५ वैशाख २०८३ । पश्चिम तराई क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। वर्षा नहुँदा तराई–मधेसमा गर्मी थप बढ्ने संकेत देखिएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार विशेषगरी पश्चिम तराईमा आगामी चार दिनसम्म वर्षाको सम्भावना नदेखिँदा तापक्रम क्रमशः बढ्नेछ। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त अवधिमा गर्मी बढ्ने स्पष्ट संकेत रहेको बताएका हुन्।
उनका अनुसार पूर्वी पहाडका केही स्थानमा भने बादल र वर्षाका कारण मौसम केही शीतल रहनेछ। काठमाडौंमा पनि एक–दुई दिन आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेकाले अत्यधिक गर्मी नहुने अनुमान गरिएको छ।
उप्रेतीले छिमेकी भारतका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गर्दै उत्तर प्रदेशका केही क्षेत्रमा ४४ डिग्री आसपास तापक्रम मापन भइरहेको र ‘लू’ समेत घोषणा गरिएको जानकारी दिएका छन्।
नेपालमा तत्काल ‘लू’को अवस्था नरहे पनि तराई क्षेत्रमा अधिकतम तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले पनि तराई क्षेत्रमा ‘तातो दिन’को अवस्था रहने र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। शनिबार काठमाडौंसहितका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको विभागले जानकारी दिएको छ।






