काठमाडौं, ३ वैशाख २०८३ । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारको निर्णयअनुसार अब सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ । तर, आकस्मिक (इमरजेन्सी) तथा अन्तरंग (इनडोर) सेवाहरू भने २४ सै घण्टा सञ्चालनमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा। विकास देवकोटा र पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकार यो निर्णयमा पुगेको हो । मन्त्रालय स्रोतका अनुसार दुई दिन बिदा सम्बन्धी सहमति भइसकेको छ र औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
ओपिडी सेवा दुई दिन बन्द हुने भएपछि सरकारले आकस्मिक सेवाको क्षमता थप विस्तार गर्ने तयारीसमेत थालेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मीलाई पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदा दिनुपर्ने माग गर्दै आएको थियो । बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै उनीहरूले आन्दोलनको चेतावनीसमेत दिएका थिए ।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्यकर्मीहरूले संयुक्त आन्दोलनको चेतावनी दिएपछि अन्ततः सरकारले अस्पतालहरूमा पनि दुई दिन बिदा लागू गर्ने निर्णय गरेको हो ।






