Online Bichar
मंगलबार, जेठ ०५, २०८३ | Tuesday, May 19, 2026

काठ्माडौं, २९ फागुन २०८२ । बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दादुरा संक्रमण देखिएको छ । ढोरपाटन–७, ८ र ९ का बालबालिकामा संक्रमण पुष्टि भएको धौलागिरि प्रादेशिक अस्पतालले जनाएको छ ।

एक दशकभन्दा बढी समयसम्म जिल्लामा दादुराको प्रकोप नदेखिएको अवस्थामा अचानक संक्रमण फैलिएको हो । संक्रमितमा अधिकांश १० देखि २० वर्ष उमेर समूहका छन् । समुदायमा संक्रमण फैलिएपछि जिल्ला अस्पतालबाट पनि स्वास्थ्यकर्मी पठाइएको धौलागिरि प्रादेशिक अस्पतालका प्रवक्ता शान्ति पौडेलले बताइन् । स्थानीय बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा संक्रमितको उपचार भइरहेको उनले जानकारी दिइन् ।

बिरामीलाई आइसोलेसनमा राखेर उपचार, आवश्यक औषधि र खोप व्यवस्थापन तथा फिल्डमै स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । बुर्तिबाङ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार, यहाँ भर्ना हुने दादुरा संक्रमितको संख्या बढ्दो छ । बिहीबार ९फागुन २८० ६ जना अस्पताल भर्ना भएका थिए । शुक्रबाट (फागुन २९) दिउँसो १ बजेसम्म १० जना बिरामी भर्ना भइसकेका स्वास्थ्यकर्मीले बताएका छन् ।

ओपीडीमा चेकजाँच गरेर घर फर्कनेको संख्या पनि बढ्दो छ । २९ जना बिरामी निको भएर घर फर्किइसकेका स्वास्थ्यकर्मीले बताएका छन् ।

कसरी फैलियो दादुरा ?
निसीखोला गाउँपालिकामा भारतबाट आएका एक बालक आफन्त भेट्न बोबाङ गाउँ पुगेपछि संक्रमण फैलिएको आशंका छ । उनी ढोरपाटन नगरपालिका–९ स्थित आफन्त भेट्न गएका थिए । त्यहाँका केही बालबालिका बिरामी पर्न थालेपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । यही फागुन १० गते पहिलो ‘केस’ देखिएको थियो । हालसम्म ८१ जनामा संक्रमण देखिएको ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्माले जानकारी दिए ।

उनका अनुसार, फरक–फरक ठाउँबाट नमुना संकलन गरी परीक्षणका निम्ति काठमाडौं पठाइएको थियो । काठमाडौं पठाइएको नमुनामध्ये परीक्षणबाट सातजनामा दादुरा पुष्टि भइसकेको छ ।

बुतिबाङ अस्पतालमा हाल ११ जना उपचाररत छन् । बोबाङ स्वास्थ्य चौकीमा ६ जना उपचाररत रहेका जनाइएको छ ।

बडिगाड गाउँपालिकामा पनि तीनजनामा संक्रमण आशंका गरिएको छ ।

ढोरपाटन नगरपालिकाले शुक्रबारदेखि तीन दिनसम्म दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । भीडभाड नगर्न आग्रह गरिएको छ । विद्यालयहरू बन्द गरिएको छ ।

जनस्वास्थ्य अधिकृत शर्माले भने, “स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकालाई पठाइएको छ । साथै, अन्य वडामा संक्रमण फैलिन नदिन समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।”

बिरामीलाई घरमा नै आइसोलेसनमा राख्ने व्यवस्था गर्न पनि स्वयंसेवक परिचालन गरिएको उनले जानकारी दिए ।

विशेषज्ञको सुझाव
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनका अनुसार, दादुरा भाइरसका कारण लाग्ने निकै संक्रामक रोग हो । विशेष गरी पाँच वर्षमुनिका बालबालिकामा यसले जटिलता निम्त्याउन सक्छ ।

दादुरा हुँदा ज्वरो आउने, शरीरमा राता बिमिरा देखिने, आँखा रातो हुने, नाकबाट सिँगान बग्नेजस्ता लक्षण देखिन्छ । यसबाट निमोनिया, मस्तिष्क ज्वरो र आँखामा गम्भीर समस्या हुनसक्छ ।

डा। पुन भन्छन्, “दादुराको खास औषधि छैन । यसको एक मात्र बलियो ढाल भनेकै खोप हो । संक्रमण भएमा बिरामीलाई आइसोलेसनमा राख्नुपर्छ र भिटामिन ‘ए’ अनिवार्य खुवाउनुपर्छ ।”

सरकारले यसअघि सन् २०२३ सम्म दादुरा उन्मूलन गर्ने लक्ष्य राखे पनि पटक–पटक देखिएको छ । अब सन् २०२६ सम्म दादुरा उन्मूलन गर्ने नेपालको नयाँ लक्ष्य छ ।

 

तपाईको प्रतिक्रिया