Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकलेले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट विभिन्न समयमा जलाउँदै आएको छ । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकले यसै हप्ता मात्रै राष्ट्र बैंकले झण्डै रु १२ करोड बराबरका नोट जलाएको छ।

पछिल्लो समय राष्ट्र बैंकले नष्ट गर्ने नोटको परिमाण बढ्दै गएको छ । चालू वर्षको पहिलो ६ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका झुत्रा नोट जलाइएको छ। पुराना र काम नलाग्ने नोटलाई थापाथली राष्ट्र बैंक परिसर मै नष्ट गर्ने गरिन्छ ।

गत आर्थिक वर्ष ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरका नोट जलाइएका थिए । जलाइएका नोटको परिमाण २८ करोड ४ लाख ४३ हजार ७१ थियो । त्योभन्दा अगाडि आर्थिक वर्ष २०७३–७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यका १९ करोड ३७ लाख १ हजार ५ सय १४ वटा नोट जलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जलाउनका लागि कसरी छनोट हुन्छ नोट ?

दैनिक जीवनमा प्रयोग हुने नोट प्रयोग सुरक्षित नहुँदा राष्ट्र बैंकले जलाउने नोटको परिमाण बढ्दै गएको छ । बैंकले नोटको स्याहार र संरक्षणका लागि पटक पटक सूचित गराउँदा पनि सर्वसारधणले यसप्रति वेवास्ता गर्दा चाँडै नै नोटहरु झुत्रा बन्ने समस्या बढ्दो छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौला अनुसार झुत्रा, मैला, च्यातिएका, लेखिएका नोटहरू केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ।

राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनः भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ । पुराना नोट नष्ट गरेपछि सोहि परिमाणमा नयाँ नोट छाप्नु पर्ने हुन्छ, जसका लागि राष्ट्र बैंकको वर्षे्नि करोडौं खर्च हुने गरेको छ ।

राष्ट्र बैंकका अनुसार ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ। त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत पर्छ।

नोट झुत्रिने क्रम बढ्दै

कार्यकारी निर्देशक निरौलाका अनुसार ठुला नोट (५ सय र हजार रुपैयाँ दरका नोट)को आयु आयु साढे तीन वर्ष अनुमान गरिएको छ । यस्तै साना नोटको आयु साढे दुई वर्ष हुने अनुमान गरिएको छ ।

यद्यपि, कागजी मुद्राको आयु व्यक्तिको प्रयोग गर्ने शैलीमा पनि भर पर्छ । राष्ट्र बैंकका अधिकारी भने नोटको गुणस्तरभन्दा लापरबाहीपूर्वक प्रयोग गरिनुले नै झुत्रिने क्रम बढ्दै गएको दाबी गर्छन्। तर पछिल्लो समय राष्ट्र बैंकबाट छापिएका नोटको गुणस्तर कम हुनुले पनि छिटो झुत्रिएको हो कि भन्ने शंका छ।

खासगरी नोट छाप्दा देशको आर्थिक बृद्धिदर, मुद्रास्फितीको दर, बजेटको आकार, सर्कुलेसनको ट्रेण्ड, विनिमयदरको अवस्था, डिजिटल पेमेन्टको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलन लगायत मापदण्डलाई हेर्ने गरिन्छ ।
न्यूज२४बाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments