Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २९ माघ । सन् २०१९ को पहिलो महिना जनवरीमा करिब ९२ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१८ जनवरीको दाँजोमा २५.४ प्रतिशतले बढी यो संख्या हवाई र स्थल दुवै मार्गबाट आएका पर्यटकको हो ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले मंगलबार जनाएअनुसार ७७ हजार ३ सय पर्यटक हवाई मार्ग र १४ हजार ४ सय ९३ स्थल मार्ग गरी जनवरीमा कूल ९१ हजार ७ सय ९३ पर्यटक नेपाल आइपुगेका थिए ।

गएको महिना भारतीय पर्यटक २०.६ प्रतिशतले बढेका थिए । भारतीय पर्यटकको संख्या १४ हजार ६ सय ५० पुगेको छ । समग्र दक्षिण एसियाली मुलुक (सार्क) बाट ११.६ प्रतिशतले वृद्धि भई १७ हजार ४ सय ३२ पुगेका छन् ।

अर्को छिमेकी मुलुक चीनबाट १३ हजार ६ सय ८८ पर्यटक आएका छन् । यो गत वर्ष जनवरीको दाँजोमा १४ प्रतिशतले बढी हो । त्यसैगरी थाइल्यान्डबाट ६९.८ प्रतिशत, जापानबाट ३८ र दक्षिण कोरियाबाट ८.४ प्रतिशतले पर्यटक बढेको तथ्यांक ‘रेकर्ड’ गरिएको छ ।

भारत र चीनपछि अर्को प्रमुख पर्यटन स्रोत बजार युरोपबाट पनि आशालाग्दो सुधार रेकर्ड गरिएको छ ।
गएको महिना युरोपबाट आएका ११ हजार ९ सय ६६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो अघिल्लो वर्षको तुलनामा औसत २० प्रतिशतको वृद्धि हो ।

जनवरीमा बेलायतबाट ४ हजार १ सय ३०, जर्मनीबाट १ हजार ५ सय ४९ र फ्रान्सबाट १ हजार ३ सय ७५ पर्यटक नेपाल आएका थिए । ती संख्या गत वर्ष जनवरीको दाँजोमा बेलायती २७.२, जर्मन १९.७ र फ्रान्सेली १९.८ प्रतिशतले धेरै हुन् ।

त्यस्तै अर्को प्रमुख बजार अमेरिकाबाट २८.१ प्रतिशतको उल्लेख्य सुधार रेकर्ड गरिएको छ । गत महिना ७ हजार २८ अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अस्ट्रेलियाबाट पनि ३१.३ प्रतिशतले पर्यटक वृद्धि भई ३ हजार ५ सय २७ पुगेका छन् ।

“पर्यटक आगमनमा दिगो वृद्धि गर्न सरोकारवाला तथा सञ्चारमाध्यमले नेपालबारे संसारभरि सकारात्मक सन्देश फैलाएका कारण सफलता मिलेको हो,” पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने, “यसबाट सार्वजनिक तथा निजी क्षेत्रबीच अझै सहकार्य बढाउँदै काम गर्न प्रोत्साहन मिलेको छ ।”

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments