काठमाडौं, ८ मंसिर २०८२ । चिसो मौसम शुरु हुँदा पनि देशभर डेंगुका विरामी कम हुन सकेका छैनन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार पछिल्लो एक सातामा देशभर १६० जना डेंगुका विरामी भेटिएका छन्।
योसँगै नेपालमा गत पुसयता डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ८०२ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २ हजार ८ जनामा डेंगु पुष्टि भएको छ।
त्यसैगरी गण्डकीमा १ हजार ९७७, लुम्बिनीमा १ हजार २९३, कोशीमा ९९७, सुदूरपश्चिममा ८३९, कर्णालीमा ५२३ र मधेशमा १६५ जनामा डेंगु पुष्टि भएको छ।
काठमाडौँमा मात्रै एक हजार २० जना डेंगु संक्रमित रहेका छन्। नोभेम्बरमा मात्रै काठमाडौँमा १२६ भन्दा बढी संक्रमित भेटिएका छन्। यसैगरी ललितपुरमा १५७ जना र भक्तपुरमा ११० जना संक्रमित रहेका छन्।
हालसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको इडिसीले जनाएको छ।






