Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, १८ भदौ २०८२ । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालयहरूले भदौ २४ र २५ गते विद्यालय बन्द गर्ने तयारी गरेका छन् । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने गरी आन्दोलन गर्न लागिएको जानकारी दिए ।

“भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने गरी आन्दोलन गर्दै छौँ । अहिलेसम्म विद्यार्थीहरूको पढाइमा कुनै बाधा आएको छैन । २४ र २५ गते बन्द गर्नुपर्ने हुन सक्छ,” न्यौपानेले  भने ।

यसअघि, आन्दोलनका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठन (प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमए) ले भदौ १८ गते (आज) देखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर, उनीहरूले अन्तिममा आएर विद्यालय बन्दको निर्णय फिर्ता लिएका थिए ।

निजी विद्यालयहरूले पाँचबुँदे माग राखेका छन् । विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग उनीहरूको छ ।

यस्तै, उनीहरूले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग राखेका छन् ।

निजी विद्यालयका छाता संगठनहरूले भोलि (भदौ १९ गते) देखि चरणबद्ध आन्दोलन थाल्नेगरी कार्यक्रम घोषणा गरिसकेका छन् । जसअनुसार, भोलि बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकाममा आन्दोलनरत संस्थाका सदस्य विद्यालयको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गर्ने कार्यक्रम छ । तिलगंगास्थित होटल वेस्टर्न प्लसमा दिउँसो २ बजे निर्णायक आन्दोलन तयारीसम्बन्धी प्रशिक्षण कार्यक्रम रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया