Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

इटहरी, २० माघ ।  सुनसरी खनारकी देवकी सरदारले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको खुलेको छ। उनका श्रीमान् श्याम सरदार गत वैशाख ३१ गते मृत भेटिएका थिए। इलाका प्रहरी इटहरीले पत्रकार सम्मेलन गरी घटनाबारे यथार्थ सार्वजनिक गरेको हो। श्रीमान्को हत्याका लागि देवकीले प्रेमी मोहम्मद ताहिर मियाँसँग मिलेर ५ लाखको सुपारी दिएकी थिइन्। ‘श्यामलाई नमारे दुवै जनालाई छाड्छु भनेर प्रेमीलाई उचालेको पाइयो’, डिएसपी शिव श्रेष्ठले भने।

भारतका रञ्जित महतोले ताहिरसँग ५ लाख सुपारी लिएका थिए। महतोले ४० हजारको फर्निचरसहित डेढ लाख रुपैयाँ लगिसकेको अनुसन्धानबाट खुलेको छ। हत्या आरोपमा देवकी, ताहिरसहित दुहवी–९ का मोहमद जाविर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुपारी लिने महतो फरार छन्।

प्रहरीका अनुसार छड व्यापार गर्ने श्यामलाई ग्राहक बनेर रञ्जितले सोनापुरस्थित बन्द अवस्थाको उद्योगमा बोलाएका थिए। श्याम मोटरसाइकल चढेर त्यहाँ पुगेका थिए। उनलाई त्यही मोटरसाइकल प्रयोग गरी ठक्कर दिएर र पछि टाउकोमा हुक लगाएर मारेको पाइएको प्रहरीले जनाएको छ।

उनको शव जेठ १ गते फेला पारिएको थियो। मोटरसाइकलसहित भेटिएको शवको प्रकृति दुर्घटनाभन्दा फरक भएकाले शंका लागेर अनुसन्धान गरिएको श्रेष्ठले सुनाए।

अन्नपूर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments