Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

झापा, २२ साउन २०८२ । झापाको बिर्तामोडमा आज पक्राउ गरेका व्यक्ति लागूऔषध कारोबारी भानुभक्त खरेलको साझेदार भएको खुलेको छ । प्रहरीले आज बिर्तामोड-५ स्थित कञ्चन टोलबाट ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरेको हो । खरेलसँग व्यावसायिक साझेदारका रुपमा पन्धाक काम गर्दै आएको बुझिएको छ ।

प्रहरी टोलीले पंधाकको घरको भूईतलाबाट माथिल्लो तलाहरुमा जाने सिढी मुनीको खाली भागमा कागजको कार्टुनहरुले छोपी राखेको २० हजार क्याप्सुल ट्रामाडोल लागुऔषध बरामद गरेको छ ।

गत साउन १ गते बिर्तामोड प्रहरीले बिर्तामोड–५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो । खरेल सञ्चालक रहेको सो गोदामबाट प्रहरीले २ लाख २१ हजार ४०० वटा ट्याब्लेट र १ हजार ८७० एम्पुल लागूऔषध बरामद गरेको जनाएको थियो । पन्धाकको घरबाट २० हजार क्याप्सुल बरामद गरिएको छ ।

खरेलले बिर्तामोड-५ मंगलदिप टोलस्थित मनकुमार सङ्ग्रौलाको घरमा कोठा भाडा लिई लागुऔषध भण्डारण गरिराखेको अवस्थामा १०३८०० क्याप्सुल ट्रामाडोल, १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सने, ४०५० ट्याब्लेट ट्रामाडोल एन्ड एसीटामिनोफेन् ट्याब्लेट, टर्मिपिल किट ७६५० ट्याब्लेट, जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट र ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको थियो । खरेल अहिले फरार रहेका छन् । प्रहरीले प्रतिबन्धित औषधि र लागू औषधसहित खरेलका स्टाफ अर्जुनधारा–६ दासपुल बस्ने वर्ष २५ को विनोद घिमिरेलाई पक्राउ गरेको छ ।

 

तपाईको प्रतिक्रिया