काठमाडौं, १८ साउन २०८२ । मुलुकमा दैनिक १ सय ६० अपराधका उजुरी दर्ता हुने गरेका छन् । आर्थिक वर्ष ०८१/०८२ मा मुलुकमा ५८ हजार ४ सय ७२ वटा अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा १६ हजार ५ सय ७५ उजुरी दर्ता भए । मधेस प्रदेशमा ९ हजार ५ सय ९९, कोशी प्रदेशमा ९ हजार ४ सय ६१, लुम्बिनीमा ७ हजार ४ सय ६६, बागमतीमा ५ हजार ३ सय ३३, गण्डकीमा ४ हजार १ सय १५, सुदुरपश्चिममा ३ हजार ९ सय ३६ र सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ८७ वटा उजुरी दर्ता भए ।
देशभर सबैभन्दा बढी उजुरी पर्ने अपराधमा बंैकिङ कसुरजन्य आर्थिक अनियमितता हो । एक वर्षमा मुलुकभर १३ हजार ८ सय ८७ बंैकिङ कसुरका उजुरी दर्ता भए । यो कसुरमा उपत्यकामा ५८ प्रतिशत बढी उजुरी दर्ता भए । मुख्य १० अपराधको शीर्षकमा दोस्रो स्थानमा छ, सार्वजनिक हितविरुद्धको अपराध । मुलुकभर ८ हजार ५ सय १९ यस्तो कसुरका घटना भए । समाजमा निकै डरलाग्दो र तीव्र रूपमा बढेको अपराध हो आत्महत्या । एक वर्षमा ६ हजार ८ सय ५२ जनाले आत्महत्या गरेका छन् । लागुऔषध, चोरी, जबरजस्ती करणी, ठगी, सवारीज्यान, ज्यान मार्ने उद्योग र बहुविवाहजस्ता अपराध समाजमा धेरै बढ्ने गरेका छन् ।
डरलाग्दो सवारी दुर्घटना, दैनिक ७ जनाको मृत्यु
प्रहरी प्रधान कार्यालयमा आइतबार भएको एक कार्यक्रममा प्रहरी प्रवक्ता विनोद घिमिरेले तुलनात्मक वार्षिक तथ्यांक प्रस्तुत गरेका छन् । प्रहरीकै तथ्यांक हेर्दा पनि देशभर हुने सवारी दुर्घटनाको संख्या तीव्र गतिमा बढेको छ । आव ०८१÷८२ मा देशभर २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटना भए । ती दुर्घटनामा २ हजार ६ सय ४९ जनाको ज्यान गयो । ४४ हजार बढी घाइते भए । देशभर हरेक दिन ७९ वटा दुर्घटना हुन्छन्, ।
दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुन्छ । १ सय २१ जना घाइते बन्छन् । प्रहरी प्रवक्ता घिमिरेका अनुसार, सवारी दुर्घटना कम गर्न प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । एक वर्षमा १६ लाख १६ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीमा परेका चालकहरूबाट ट्राफिक प्रहरीले १ अर्ब २८ करोड बढी राजस्व संकलन गरेको छ । दुर्घटना गराउने सवारीसाधनमा ५८ प्रतिशत बढी मोटरसाइकल रहेको छ ।
२३६९ प्रहरीले दिए सेवाबाट राजीनामा
नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ३ सय ६९ जनाले पदबाट राजीनामा दिएका छन् । प्रहरी प्रवक्ता घिमिरेले गत आर्थिक वर्ष २०८१/०८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना रहेको बताए । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४ सय १ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ छन् । यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको छ । २ हजार ३ सय ६९ जनाले राजीनामा दिएका छन् ।
जसमध्ये सिनियर प्रहरी अधिकृत ४ सय १ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना छन् । अनिवार्य अवकाशमा जानेहरू ५ सय २३ जना छन् । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । ३ हजार ७ सय ५३ प्रहरी कर्मचारीमाथि पनि उजुरी परेको छ । जसमध्ये ३ हजार ५३ वटा फस्र्योट भएका छन । ७ सय वटा मुद्दा छानबिनमै छन् ।
नेपाल प्रहरीमा ४,७३५ जनशक्ति खाली
नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ छ । हाल ५।९५ प्रतिशत जनशक्ति रिक्त छ । विद्यमान जनशक्ति ९४।०५ प्रतिशत ९७४ हजार ८ सय ६ रहेका छन् । सिनियर अफिसरहरूको जनशक्ति २।८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५।३५ प्रतिशत रहेको छ । नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ हो । अहिले ४ हजार ७ सय ३५ खाली छ । विद्यमान जनशक्ति ९४।०५ प्रतिशत ९७४ हजार ८ सय ६ रहेको छ ।
कार्यक्रममा प्रहरी प्रवक्ता विनोद घिमिरेले गत आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा घिमिरेले संगठनको हित एवं सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवं नागरिकप्रतिको जवाफदेहिताको लागि प्रहरी कर्मचारी लागिपर्ने बताए ।अन्नपूर्णपोष्टबाट






