Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

काठमाडौं, १२ साउन २०८२ । गायक अनिल सिंहले म्युजिक डटकम, म्युजिक नेपालबाट अडियो गीत फिर्ता पाउने भएका छन् । गीतको विषयमा यी दुबैसँग कपिराइट र रोयल्टीका विषयमा कुरो मिलेको गायक सिंहले बताए ।

गायक सिंहले सामाजिक सञ्जालबाट म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको, आफ्नो म्युजिक करियर र संगीत जीवन समेत बर्वाद पार्न लागेको आरोप लगाउँदै एक भिडियो पोस्ट गरेका थिए । त्यसपछि कम्पनीले उनलाई गीत फिर्ता दिने भएको हो ।

सिंहका अनुसार अब गीतको अडियो राइट उनमै हुनेछ र भिडियो राइट मात्र म्युजिक डटकम र म्युजिक नेपालमा हुनेछ । सो विषयमा दुवै बिच साँझसम्म सम्झौता हुनेछ ।

‘मैले मेरै गीतहरू प्रयोग गर्न पाइरहेको थिइनँ । आफ्नै गीत प्रयोग गर्दा कपि राइट लाग्थ्यो’, गायक सिंहले भने, ‘अब भने अलिकति राहत मिल्यो ।’ आजबाट यो समस्याको समाधान हुने सिंहले विश्वास लिएका छन् ।

म्युजिक डटकम र सिंहबिच म्युजिक नेपालबाट प्राप्त रोयल्टी आधा–आधा बाँड्ने सम्झौता समेत हुँदैछ । गीतहरूको अडियो भने सिंहले सहजै बिना कपिराइट आफ्नो अनुकूल प्रयोग गर्न पाउनेछन् ।

सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यु’ जस्ता थुप्रै गीत सुपर हिट छन् ।

तपाईको प्रतिक्रिया