Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

कैलाली, १६ माघ । हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको । यो समाचार आजको कान्तिपुर दैनिकमा मोहन बुढाऐरले लेखेका छन् ।

घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६ महिनायता निरन्तर मरिरहेका छन् । ‘हरेक दिन गाई मरेको देख्दा मन रुन्छ, कामै छाडिदिऔं जस्तो पनि लाग्छ,’ चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडेको छु ।’

गौशालामा उनीसहित ५ जना हेरालु छन् । उनीहरू हरेक बिहान सिनो तानेर भीरबाट मिल्काउँछन् । हालैको वर्षा र चिसोले दुई दिनमा १० गाई मरे । सिनोले जंगल क्षेत्र पूरै दुर्गन्धित छ ।

त्यो ठाउँ गाउँबाट करिब दुई किलोमिटर टाढा पर्छ । कतिपय बाच्छा जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । ‘बाघले राति काँडेतारभित्रै पसी गाईबाच्छा मारेर खान थालेको छ,’ रतिलाल भन्छन, ‘बाघ जहिलेदेखि पल्क्यो, उहिलेदेखि हामी गोठालाले पनि राति बस्न छोडेका छौं ।’ घाम ढल्किएपछि घरतिर लाग्ने उनीहरू बिहान १०र११ बजेतिर आइपुग्छन् ।

सिनो मिल्काउँछन् अनि बचेका गाई चराउन निस्कन्छन् । चौधरीले हेर्दै गरेको गौशालामा ७ सय ५० गाईगोरु रहेकामा अहिले १ सय २० वटा मात्र छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments