Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

विराटनगर, ३ वैशाख २०८२ । नेपाल विद्युत प्राधिकरणको ढल्केबर सवस्टेसनमा रहेको ‘करेन्ट ट्रान्सफर्मर’ फड्किँदा बुधबार बिहान आगलागी भएको छ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले दिएको जानकारी अनुसार यो करेन्ट ट्रान्सफर्मर सानो आकारको हुन्छ। यसले करेन्ट प्रवाहको मापन गर्छ। बुधबार बिहान त्यही मेसिन पड्किँदा आगो लागेको हो।

‘एक्कासि सानो ट्रान्सफर्मर पड्केपछि आगो उठ्यो, त्यसपछि विद्युत सेवा अवरूद्ध भयो,’ उनले भने, ‘अहिले हामी वैकल्पिक उपायमार्फत् विद्युत सेवा सुचारू गर्दैछौं। क्षति के कति भएको छ हेर्ने काम भइरहेको छ।’

प्रवक्ता शिल्पकारले अहिले तारहरू र अन्य संरचनामा भएको क्षतिको विवरण संकलन गर्ने, कता कता विद्युत अवरूद्ध हुने गरी क्षति भएको छ भन्ने विवरण बुझ्ने काम भइरहेको बताए।

प्रवक्ता शिल्पकारका अनुसार मुख्य ट्रान्सफर्मरसँगै एउटा करेन्ट टान्सफर्मर पनि हुन्छ।

‘यो भनेको घरको मिटर बक्स जस्तै सानो सानो हुन्छ,’ उनले भने, ‘त्यही सानो ट्रान्सफर्मर पड्केर आगो उठेको हो।’

तपाईको प्रतिक्रिया