Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

विराटनगर, २ माघ । मोरङ प्रहरीले आइतबार सहकारीको आडमा हुण्डीको कारोबार गर्ने मुख्य गिरोह विराटनगरका राजेश हेडासहित तीन जनालाई पक्राउ गर्यो ।

उनी अध्यक्ष रहेको आस्था नेपाल बहुउद्देश्यल सहकारीमा छापा हान्दा र हेडा र कर्मचारी सुमित साहको साथबाट पैसाँको स्रोत खुलाउन नसकेको ६९ लाख ५७ हजार ६ सय रुपैयाँ पनि बरामद भयो ।

बरामद गरेको उक्त पैसाँ अवैध हुण्डी कारोबारमा प्रयोग गर्ने गरेको स्वयम पक्राउ परेका हेडाले प्रहरीलाई बताएका छन् । हुण्डीको कारोबारमा वर्षौदेखी लागि परेका हेडा पक्राउ परेको केही दिन अगाडी मोरङ प्रहरीलाई आएको भरपर्दा गोप्य सूचनाको आधारमा विराटनगर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको अवैध २४ लाख १५ हजार रुपैयाँ सहित हुण्डीको कारोबारमा संलग्न भारतका २ जना नागरिकलाई पक्राउ परे ।

पक्राउ परेका भारत अररीयाका सनोजकुमार साह र सोही ठाउँकी सुशिलादेवी गुप्ता साहले हुण्डीको पैसाँ ल्याएको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

मोरङ प्रहरीले पुस महिनामा मात्र ९३ लाख ७२ हजार ६ सय अवैध हुण्डी कारोबारमा प्रयोग गरिने पैसाँ र पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गर्यो । प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरेपछि चाँडो पैसा कमाउने उद्देश्य अनुरुप सो धन्दामा लाग्ने गरेको अनुसन्धान संलग्न प्रहरी अधिकारीहरूको भनाई छ ।

पैसाँको स्रोत खुलाउन नपर्ने र भनेको बेलामा एजेन्टमार्फत स्वदेश र अन्तराष्ट्रिय स्तरमा सजिलै पैसा पठाउन सक्ने भएकाले अवैध रुपमा हुण्डी धन्दामा लाग्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको हो ।

‘पक्राउ परेका सहकारी अध्यक्ष हेडा अवैध हुण्डीको धन्दामा संलग्न भएको देखियो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘हेडाले दिनमा कम्तिमा पनि २० देखी २५ लाख रुपैयाँसम्म अवैध हुण्डीको कारोबार गर्ने गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।’ हेडाले हुण्डीको कारोबार कस्ता व्यक्तिको र कहाँ कहाँ गर्थे त्यो भने प्रहरीले खुलाएको छैन ।

‘पुस महिनामा मात्र अवैध हुण्डीको कारोबारी र ठूलो परिणाममा नगद फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘बरामद पैसाँको अहिले सम्म स्रोत खुलेका छैन् ।’ विराटनगर क्षेत्रमा ठूलै संख्यामा अवैध रुपमा हुण्डीको कारोबार रहेको प्रहरीले बताएको छ ।

‘छोटो समय अवधिमा फरक(फरक मितिमा हुण्डीको कारोबारी पक्राउ परेका छन्,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘विराटनगर क्षेत्रमा हुण्डीको गिरोह भित्री रुपमा अझै सक्रिय हुन सक्ने अनुसन्धानले देखाएको छ ।

त्यो संजाल तोडन प्रहरी लागि परेको छ । भारत र स्वदेशका विभिन्न ठाउँमा हुण्डीमार्फत पैसा पठाउनु परे यो गिरोह सक्रिया रहेको देखियो । भारतसमा पैसा पठाउनु परे यो गिरोहले यहाँ संकलन गर्ने र सम्बन्धित ठाउँमा पुर्याउने काम गरेको देखिन्छ,’ उनले भने ।

यस्तै प्रहरीले गत वर्षको १ मंसिरमा हुण्डी कारोबार गर्ने विराटनगरको ठूलो गिरोह सार्वजनिक गरेको थियो । उक्त टोलीमा विराटनगरका प्रतिष्ठित व्यापारी स्रोत खुलाउन नसकेको हुण्डीमा प्रयोग गर्ने ८६ लाख नगद बरामद गरेको थियो ।

ती व्यापारी अहिले धरौटिमा छुटेका छन् । अवैध कारोबार नियन्त्रणका लागि सादा पोशकमा विशेष प्रहरी परिचालन गरेर अभियान चलाएको प्रहरीले गतवर्षको चैत ११ मा पनि विराटनगर(११ केशलिया मार्गमा रहेको कनैया गुप्ताको घरबाट ४ जना हुण्डी कारोबारीसहित ठूलो परिणाममा नगदसहित पक्राउ गरेको थियो ।

भाडामा लिएको घरको कोठामा अफिस कार्यालय जस्तो बनाई अबैध रूपमा हुन्डीको कारोवार गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो र प्रहरीले नगद सहित हुण्डीको कारोबारी पक्राउ गर्यो ।

त्यसबेला प्रहरीले ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ नगद, भारतीय एयरटेल कम्पनीको सिम कार्ड १ थान र विभिन्न कागजातसमेत बरामद गरेको थियो ।

यस कारण हुण्डीमार्फत पैसा पठाउँछन्
वैधानिक तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो, पैसाँ पठाउँनेको स्रोत देखाउनु नपर्ने र बैंक मार्फत पठाउँदा भन्दा कम शुल्क लाग्ने भएकाले अवैध रुपमा हुण्डीको प्रयोग गर्ने गरेका छन् । विभिन्न व्यवसायीको आवरणमा गिरोहले अन्तराष्ट्रिय रुपमा पैसाको ओसारपसार गर्ने तथा आपराधिक क्रियाकलापको लागि हुण्डीको प्रयोग गर्ने गरेका छन् ।

१० लाख भन्दा बढीको कारोबार बैंकमार्फत गर्दा स्रोत देखाउनुपर्ने भएकोले अवैध बाटो हुण्डी रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले पक्राउ गरेको हुण्डी कारोबारीले प्रहरी समक्ष दिएको बयान अनुसार उनीहरुले १ लाख रुपैयाँ भारत पढाउँदा ३ हजार देखी ५ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

हुण्डीको कारोबारीको रोजाई इमो र भाइबर
हुण्डी कारोबारीमा संलग्न गिरोहरूले इमो, भाइबरको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पैसाँ पठाउन सूचना दिन उनीहरूले मोवाइल फोनबाट सम्पर्क नगरेर इमो र भाइबर प्रयोग गर्ने गरेको डिएपी श्रेष्ठले बताए ।

‘टेलीफोन र मोवाइलबाट सम्पर्क गर्दा प्रहरीले सजिल्लै उनीहरूको संजाललाई पक्राउ गर्ने भएको इमो र भाइबर प्रयोग गरेको पाइयो,’ डिएपी श्रेष्ठले भने, ‘भाइबर, इमो प्रयोग गर्दा लोकेन पत्ता लाग्दैन ।’

इमो र भाइबरबाट मात्र पैसाँ बुझाउने व्यक्तिलाई सम्पर्क गरेको पनि उनीहरूले तत्काल कल गरेको डिलिट गर्ने गरेको डिएपी श्रेष्ठले बताए ।

हुण्डीको कारोबार गर्ने हेडा यसरी पक्राउ परे
शहरी संस्था प्रयोग गरे हुण्डीको कारोबारी गर्ने ठूलो गिरोहको संजाल विराटनगर महानगरपालिका क्षेत्रमा भइरहेको मोरङ प्रहरीलाई भरपर्दो सूचना प्राप्त भयो ।

तत्काल हुण्डी कारोबारीलाई पक्राउ गर्ने योजना प्रहरीले बुने । अवैध हुण्डी कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले तत्काल सइको नेतृत्वमा सादा पोशकमा विशेष प्रहरी परिचान गर्यो ।

विराटनगर(७ रङ्गेली रोडको एक तलामा माथि सञ्चालनमा रहेको आस्था नेपाल बहुउद्देश्य सहकारीको कोठामा अफिस कार्यालय जस्तो बनाई अबैध रूपमा हुन्डीको कारोवार गरीरहेका अवस्थामा मुख्य गिरोह दिपक हेडा पक्राउ परे ।

उक्त घरमा प्रहरीले निगरानी राखी चारै तीरबाट प्रहरीले घेराबन्दी गर्यो । पक्राउ परेका मध्धे मुख्य गिरोह हेण्डालाई पैसा मिलाउँदै गरेको अवस्थामा र हेण्डाको निर्देशनमा उनले भनेको ठाउँमा हुण्डीको ९ लाख ५० हजार रुपैयाँ पैसाँ लैजाने क्रममा सुमित साहलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।

हुण्डी के हो ?
हुण्डी एक ठाउबाट अर्को ठाउँमा पैसा पठाउने अवैध तरिका हो । राज्यले तोेकेको बाटोबाट पैसाको कारोबार नगरी अवैध तरिकाले अन्तराष्ट्रिय रुपमा पैसाको कारोबार गर्नु नै हुण्डी हो ।

अवैध तरिकाले पैसा पठाउने माध्यमलाई नेपाल र भारतमा हुण्डीको नामले चिनिन्छ । वैधानिक तरिकाले भन्दा हुण्डीबाट पैसा पठाउँदा छिटो र कम शुल्क लाग्ने भएकाले हुण्डी हुने गर्छ ।

हुण्डीमा यहाँका प्रतिष्ठित केही नाम चलेको व्यापारीहरूले समेत कारोबार गर्ने गरेको स्रोतको दाबी छ ।

ब्लाष्टखबरबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments