Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

धनकुटा, १५ पुस । अस्थायी शिक्षकको अन्तर्वार्ताका लागि धनकुटा खटिएका शिक्षक सेवा आयोगका उपसचिव बिरसिंह धामिको निधन भएको छ । आईतबार बिहान अकस्मात विरामी भएका उनको उपचारकै क्रममा निधन भएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिए ।

केही बेर ब्याडमिण्टन खेलेर नुवाई धुवाई सकेपछि अकस्मात आफूलाई सास फेर्न गाह्रो भएको बताए लगत्तै उनलाई हतार हतार अस्पताल पुर्याएर उपचार गर्दा गर्दै विहान साढे ८ बजे तिर निधन भएको भट्टराईले बताए । भट्टराईका अनुसार बिहान २० मिनेट जति ब्याडमिण्टन खेलेर उनी आफू बस्दै आएको निर्देशनालयकै कोठामा फर्किएका थिए ।

’उहाँले खेलेर सकेपछि हामी खेल्दै थियौं, केही बेर हेर्नु पनि भयो अनी नुवाई धुवाई गर्छु भन्दै कोठामा जानु भयो, कपडा फेरी सकेपछि अकस्मात सास फेर्न गाह्रो भयो भन्नु भएछ, सँगै रहेका साथी फणिन्द्र खत्रीले हामीलाई खबर गर्नु भयो हामीले १० मिनेट भित्रै हतार हतार अस्पताल पुर्यायौं’ भट्टराईले भने, ’गाडीबाट आफै झर्नु भएको हो, डाक्टरहरुले यस अघि प्रेसर भए नभएको सोध खोज गरे, उहाँ आफैंले कुनै औषधि खाने नगरेको बताउनु पनि भयो, तर विडम्बना उपचार हुँदै हुँदै हामीले उहाँलाई गुमायौं ।’

काठमाडौं स्थित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालई फोनबाटै उपचारको तरिका सोधखोज गराएर सोही विधि अनुसार उपचार भएकोको भट्टराई बताउँछन् ।

घटनाबारे आयोगका अधिकारीहरुलाई जानकारी गराईसकिएको र आफन्तहरु धनकुटा आएपछि के गर्ने भन्ने तय हुने भट्टराईले बताए ।

धामिका श्रीमती १ छोरा र १ छोरी छन् । उनकी श्रीमती उमा बुढाथोकी विद्यालय निरिक्षक हुन् हाल उनी शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा कार्यरत छन् । छोरी अष्ट्रेलिया र छोरा भारतमा अध्ययन गर्दै आएका पारिवारिक श्रोतले जनाएको छ ।

गएको बुधबार देखि शुरु निमावि तहको अस्थायी शिक्षकको अन्तर्वार्ताका लागि उनी धनकुटा आएका थिए । सोमबार अन्तर्वार्ताको अन्तिम दिन थियो । भट्टराईका अनुसार उक्त काम सकेर उनी सोमबारै फर्कने तयारीमा थिए ।

eduखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments