Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, ९ पुस । गुणस्तरहीन दाना उत्पादन गरी किसानहरुलाई विक्री वितरण गर्दै आएका कारण किसानहरु मारमा परिरहेको गुनासो आईरहेका बेला दाना उद्योगीहरुले कुखुराको दानाको मूल्य बढाएका छन् । दाना उद्योगीले पौष ९ गतेदेखि लागू हुने गरी आफूखुशी कुखुराको दानामा प्रतिकेजी दुई रुपैयाँ पचासका दरले मूल्य बढाएका हुन् । जसका कारण कुखुरा पालन गरिरहेका किसानहरु मारमा प्रत्यक्ष मारमा परेका छन् ।
व्यवसायिक रुपमा कुखुरा पालन गरिरहेका किसानहरु उद्योगीले बढाएको दानाको मूल्यका कारण लागत मूल्य पनि नपाईने हो कि भन्ने डरमा बसिरहेका छन् । किसानहरुले कुखुरालाई प्रयोग गर्दै आईरहेको दानाको गुणस्तरमाथि नै प्रश्न उठिरहेको भएपनि दानाको गुणस्तर हेर्ने निकायका पदाधिकारीहरु दाना उद्योगीहरुको मिलेमतोका कारण मापदण्ड विपरित दाना उत्पादन एवं विक्री वितरण भईरहँदा पनि पशुपन्छी विकास मन्त्रालय मुक दर्शक बनिरहेको छ ।
पशु स्वास्थ्यका दृष्टिकोणले अहिले बजारमा विक्री वितरण भईरहेका कुखुराको दानामा एण्टिवायोटिक प्रयोग गरिएको पशु स्वास्थ्यकर्मीहरुको भनाई छ । कुुखुराका लागि प्रयोग गरिएका गुणस्तरहीन दानाका कारण कुखुराको मासु प्रयोग गर्ने उपभोक्ताहरुको स्वास्थ्यमा समेत प्रभाव परिरहेको उनीहरुको भनाई छ ।
प्रतिकेजी दुई रुपैयाँ पचास पैसाका दरले दानाको मूल्य बृद्धि गरेका दाना उद्योगीले विना मापदण्ड मूल्य बृद्धि गरेको स्वीकार गर्छन् । सरकार दानाको गुणस्तर, मूल्य बृद्धिको मापदण्डका आधारहरु समेत तय नगरेका कारण् लाखौं किसान मूल्य बृद्धिको मारमा परिरहेका छन् ।
दानाका प्रयोग हुने कच्चा पदार्थ र भिटामिनको मूल्य बृद्धि भएका कारण दानाको मूल्य बृद्धि गर्नु परेको दाना उद्योग संघका अध्यक्ष रविन पुरी बताउँछन् । तर कुन कुन कच्चा पदार्थका कति मूल्य बृद्धि भयो र दानाको मूल्य दुई रुपैयाँ पचास पैसा नै बढाउने पर्ने वैज्ञानिक कारणका बारेमा उद्योगीहरु मौन छन् ।
कुखुराको दाना उत्पादनका लागि मकै, भटमास पिना लगायतको कच्चापदार्थ प्रयोग गर्ने गरिएको पाईन्छ । दाना उत्पादन गर्नका लागि करीव ८५ प्रतिशत मकै, भटमास र पिना भारतबाट आयात हुने गरेको देखिएता पनि आायात कच्चा पदार्थको गुणस्तरको विषयमा खासै खोजी हुने गरेको पाईदैन ।
ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य प्रतिकिलो ५४ रुपैयाँ ३० पैसाबाट बढेर ५६ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै बिबान दाना ५० रुपैयाँ १० पैसाबाट बढेर ५२ रुपैयाँ ३० पैसा पुगेको छ भने बिटु दाना ४९ रुपैयाँ १० पैसाबाट बढेर ५१ रुपैयाँ ६० पैसा पुगेको छ । लेयर्स कुखुराको तीन नम्बरको दाना ४३ रुपैयाँ ४० पैसाबाट बढेर ४५ रुपैयाँ ९० पैसा पुगेको छ ।
दानाको लागि प्रयोग हुने मकैको मूल्य भारतमा अत्यधिक बृद्धि भएका कारण दानाको मूल्य बढाउनु परेको वाध्यता उद्योगीहरुले सुनाउने गरेपछि भारतमा मकै, भटमास लगायत कच्चा पदार्थको मूल्यमा कमी आउँदा दाना उद्योगीहरुले दानाको मूल्य अहिलेसम्म घटाएको देखिँदैन ।
कुखुराको मासुमा आत्मनिर्भर भएको बताईरहेको पशुपन्छी विकास मन्त्रालयले दानाको मूल्य तथा गुणस्तरमा ख्याल नगर्ने हो भने जुनसुकै बेला पनि यसबाट समस्या आउने पशुविज्ञहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments