Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

बाँके, ९ पुस । बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् ।

दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए ।

बाख्राको पेट फुल्ने, मुखबाट र्‍याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । ‘बाख्रा पालेरै खर्च चलाउने हामीलाई ठूलो क्षति भयो, अझै कति बाख्रा मर्ने हुन् थाह छैन’, उनले भने, ‘गाउँभरि त्रास फैलिएको छ । हाम्रा बाख्रा बचाइदिनुपपर्‍यो ।’

‘साँझ चरेर आउँदा ठिकै हुन्छन् रातपरेपछि बिरामी हुन्छन्, मेरामात्रै १४ वटा बाख्रा मरिसके’, कम्दी पदमपुरका किसान ललित शाहीले भने, ‘गाउँमा सबैका बाख्रा धमाधम मरिरहेका छन् तर गाउँपालिकाले दिएको औषधिले कामै गरेन ।’

बाख्रा मर्नेक्रम नरोकिएपछि कम्दीका बाख्रापालक किसान उपचारको माग गर्दै नेपालगञ्जस्थित भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र आइपुगेका छन् । बाख्रा बिरामी परेको बेला खबर गर्दा गाउँपालिका पशु स्वास्थ्य शाखाबाट चिकित्सक पुग्ने गरे पनि नियमितरुपमा आउने जाने नगरेको कम्दी पदमपुरका किसान टीकाराम योगीले बताए ।

‘बोलाएका बेला आउनुहुन्छ तर औषधिले काम ग¥यो गरेन वा के कसो भयो भनेर सोध्न आउनुहुन्न’, योगीले भने, ‘औषधि खुवाउँदा सञ्चो भएजस्तो हुन्छ फेरि एकाएक बिरामी परेर बाख्रा मर्ने गरेका छन् । हाम्रा बाख्राको ज्यान बचाइदिनुप¥यो हाम्रो ठूलो क्षति भइसक्यो ।’ उनको दुईहप्ताभित्र छ वटा बाख्रा मरिसकेका थिए ।

डुडुवा गाउँपालिका–५ कम्दी सानोखजुराका कुमराज कुम्हालले आफ्ना २४ वटा बाख्रा मरिसकेको जानकारी दिँदै भने, ‘गाउँपालिकाबाट आएका चिकित्सकको भरपर्दा बाख्रा मरेर सकिन थाले रोग निको नै भएन ।’

डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक तथा पशु चिकित्सक अशोक पाण्डेले रोगको पहिचान गर्नमै समस्या भएको बताए । ‘किसानको फोन आउनासाथ हामी घरमा पुग्ने गरेका छौँ तर औषधि गर्दागर्दै बाख्रा मर्ने गरेका छन्’, उनले भने, ‘साँझ ठीक हुन्छ रातभरीमा बिरामी पर्ने र मर्ने गरेकाले रोग पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।’

कुनै नयाँ रोगको आशङ्कामा बाख्राको रगत परीक्षणका लागि सुर्खेत पठाइएको चिकित्सक पाण्डेको भनाइ थियो । रोगको पहिचान नभएकाले रोकथाममा समस्या भएको उनले बताए । रोगको पहिचान र रोकथाममा सहयोगका लागि नेपालगञ्जस्थित केन्द्रमा समेत अनुरोध गरिएको उनले जानकारी दिए ।

उक्त अस्पतालका प्रमुख डा हरिबहादुर कुँवरले बाख्रा मरेको किसानले जानकारी गराएको बताए । स्रोत र साधन सबै स्थानीय तहमै भएकाले आफूले समन्वयमात्रै गर्ने उनको भनाइ छ ।

चिकित्सक कुँवरले यो याममा बाख्राको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बाख्रा बिरामी पर्ने गरेको बताए । पौष्टिक आहारयुक्त दाना खुवाएमा रोग लाग्ने सम्भावना कम हुनसक्ने उनको सुझाव छ ।
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments