Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

२६ असार २०८१ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ । आज रातीबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएकोले भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।

यी दुबै प्रणालिहरुको प्रभावले आज राती देखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज साँझ मनसुन विशेष बुलेटिन जारी गरेको छ। मनसुन विशेष मौसम बुलेटिन अनुसार आज रातिदेखि शनिवारसम्म ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी जारी भएको छ।

महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै २९ गतेको बिहानसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज राती देखि शनिवार बिहानसम्म कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला मनसुनी वर्षाको उच्च जोखिममा रहेका छन्।

मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा वर्षाको उच्च जोखिमको सूचीमा छन्।

यस्तै, गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ जिल्लालाई विभागले रेड जोनमा राखेको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया