Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

विराटनगर, ९ पुस । अवैध रुपमामा हुण्डीको कारोबार गर्ने गिरोहसहित मोरङ प्रहरीले २४ लाख १५ हजार रुपैयाँ बरामद गरेको छ । भारतबाट नेपाल ल्याउँदै गरेको २४ लाख नेपाली रुपियाँ तथा ४ हजार ९ सय भारतीय रुपियाँसहित विराटनगरबाट दुई जना भारतीय नागरिक आइतबार पक्राउ परेका हुन् ।

हुण्डी मार्फत भारत पठाएको रकम भुक्तानी गर्न आएका भारत फारविसगञ्ज ९ का ५० वर्षीया शुशिलादेवी गुप्ता साह र २८ वर्षीय सनोजकुमार साहलाई विशेष सूचनाका अधारमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

भारतीय बजारमा नेपाली मुद्रा सटही गरेर भुक्तानीका लागि आउँदै गरेको अवस्थामा प्रहरीले बि आर ३८ एच ६१४२ नम्वरको भारतीय सुजुकि कार विराटनगर रोडशेष चोकमा चेकजाँच गर्दा रकम फेला परेको थियो ।

नेपाल सरकारले व्यक्तिले १० लाख रुपियाँ भन्दा बढी रकम बोकेर हिड्न नपाउने व्यवस्थासमेत गरेको अवस्थामा ठूलो परिमाणमा नगद बोकेर आएको तथा कारको डिकिमा लुकाएर ल्याएकोले पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा हुण्डि मार्फत भारत पठाइएको रकम भुक्तानी गर्न ल्याएको खुलेको डिएसपी श्रेष्ठले बताए ।

हुण्डि मार्फत अवैधरुपमा आर्थिक कारोबार भइरहेको र त्यसको ठूलो सञ्जाल फेरी सक्रिय भएको सूचना प्राप्त भएको अवस्थामा रकमसहित दुई जना व्यक्ति फेला परेको उनले बताए । ‘यहाँ हुण्डि कारोबारमा ठूलो सञ्जाल सक्रिय रहेको जानकारी आएको छ,’ डिएपी श्रेष्ठले भने, ‘हामी सञ्जाल पहिचान गर्ने र कारबाही गर्ने प्रकृयामै छौँ ।

त्यहि समयमा यो सफलता प्राप्त भएको हो ।’ पक्राउ परेका गिरोहले यहाँ कहाँ ल्याएर बुझाउन खोजोके त्यो भने खुलि नसेको प्रहरीले जनाएको छ । ‘अहिले अनुसन्धानकै क्रममा छौं,’ डिएसपी श्रेष्ठले भने, ‘हुण्डी कारोबारीको संजाल खोज्ने क्रममा छौँ ।’

पक्राउ परेका दुबै जनालाई कारवाहीका लागि सुनसरीको इटहरी स्थित क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ ।

यस अघि पनि समय समयमा विराटनगरबाट हुण्डि कारोवारीहरु पक्राउ पर्दै आएका थिए । एक बेला विराटनगरमा हुण्डीको कारोबार लिमिटेन्डा रहेको थियो भने अहिले फेरी सलबलाउन थालेको छ । प्रहरीले समेत त्यही अनुरुप खोजी गरि पक्राउ गर्न लागि परेको बताउँदै आएको छ ।

अघिल्लो वर्ष हुण्डि कारोबारकालागि यसैगरी ल्याइएको झण्डै १ करोड ५० लाख रुपियाँ भन्दा बढी रकम प्रहरीले बरामद गरेको थियो । त्यस क्रममा एक दर्जन बढी कारोवारी तथा भरीयाहरु पक्राउ परेका थिए ।
ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments