Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

फोक्सिन्टार, ५ पुस ।  उदयपुर र खोटाङको सीमास्थल सुनकोसीमा बुधवारदेखि बेलिब्रिज सञ्चालन आएको छ। २ जिल्लालाई जोड्न उदयपुरको रौतामाई गाउँपालिका ५ को फोक्सिन्टार र खोटाङको इन्द्रेणीपोखरीको सीमाना सुनकोसीमा मंसिर १७ देखि पुनर्जडान थालिएको बेलिब्रिज निर्माण सम्पन्न भएसँगै बुधवारदेखि सवारी यातायात चल्न थालेका छन्।

बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङ सदरमुकाम दिक्तेल यातायातको सोझो सम्पर्कमा आएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटले जनाएको छ। सडक विभागको ८१ लाख लागतमा सगरमाथा कन्स्ट्रक्सन गाईघाटले बेलिब्रिज पुनर्जडान कार्य सम्पन्न गरेको सडक योजना कार्यालयका इन्जिनियर निज्जल श्रेष्ठले बताएका छन्। श्रेष्ठले बुधवार आयोजित एक कार्यक्रमबीच बेलिब्रिजको उद्घाटन गरे।

हरेक वर्षायाममा कोसीमा आउने बाढीबाट बचाउन वैशाख–जेठमा बेलिब्रिज खोेल्ने गरिएको छ भने हिउँद लागेपछि कात्तिक÷मंसिरमा पुनर्जडान गरेर यातायात सञ्चालन गर्ने गरिएको श्रेष्ठले बताए। विगत वर्षको तुलनामा केही ढिला बेलिब्रिज सञ्चालनमा आएको हो। विगत वर्ष कात्तिकमै बेलिब्रिज पुनर्जडान सकेर यातायात सञ्चालनमा आएको थियो। गाईघाट–दिक्तेल सडक योजनाले यो वर्ष चाडपर्वका कारण केही ढिला हुन गएको जनाएको छ।

‘कात्तिकमै पुनर्जडान गर्ने सुचना प्रकाशित गरिएपनि तिहार र छठले काममा ढिलाई हुन गएर केही समय ढिला हुन गएको इन्जिनियर श्रेष्ठले बताए। फोक्सिन्टारस्थित सुनकोसीमा १० वर्षअघि नै पक्की पुल बनाउने योजना भएपनि सम्बन्धित ठेकेदारले काम नगर्दा गाईघाट–दिक्तेलको मुख्य नाका मानिएको सुनकोसी तर्न बेलिब्रिजको भर पर्नुपरेको हो। बेलिब्रिज जडान र पुनर्जडान गर्न वर्षेनी डेढदेखि २ करोड हाराहारी खर्च हुने गरेको छ। ५० मिटर लामो बेलिब्रिज खोल्न र पुनर्जडान गर्न उत्तिकै खर्च हुने कन्स्ट्रक्सनका सञ्चालक प्रेमराज कार्कीले बताए।

उदयपुर सदरमुकाम गाईघाटदेखि दिक्तेलसम्मको सगरमाथा लोकमार्ग तत्कालनि प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ०५३ सालमा सुरु गरेको हो। १ सय ३९ किलोमिटर दूरीको उक्त लोकमार्ग २२ वर्ष बितिसक्दापनि पूर्णता पाउन नसक्नुमा निर्माण कम्पनी र राज्य दुवैको कमजोरी रहेको स्थानीयको भनाई छ। फोक्सिन्टारदेखि उदयपुरतर्फको ५३ किलोमिटरमध्ये गाईघाट–साउने खण्डको १९ किलोमिटर कालोपत्रेसमेत भइसकेको छ। तर, साउनेदेखि फोक्सिन्टारसम्मको बाँकी भागमा भने स्तरोन्नति र ग्राबेल गर्ने काम भइरहेको छ।

फोक्सिन्टारदेखि दिक्तेलसम्मको ७६ किलोमिटर दूरीको सडक भने ग्राबेल र स्तरोन्नति मात्र भइरहेको आयोजना कार्यालयले जनाएको छ। गाईघाटदेखि दिक्तेसम्मकै लोकमार्ग दोब्बर लेनको पक्की सडक बनाउने गरी काम भइरहेको सडक कार्यालयको भनाई छ। इन्जिनियर श्रेष्ठले आउँदो ०७६ असारभित्र लोकमार्गको सबै भागमा कालोपत्रेसहित निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताएका छन्।

नागरिकबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments