Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

झापा, ३ पौष । जिल्लाका किसानले तीन बाली धान खेती गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन कार्यान्वयनमा आएपछि जिल्लाका किसान बाह्रै महिना धान खेतीमा लागेका हुन् ।

वर्षामा मात्र धान रोपाइँ गर्ने गरेका कचनकवल गाउँपालिकाका किसान मंसिर–पुसमा पनि धान रोपाइँमा व्यस्त छन् । धान सुपर जोन कार्यान्वयनमा रहेको कचनकवलका किसानले अहिले ‘बोरो’ धान रोपाइँ गरिरहेका छन् ।

बर्खे धान काटेलगत्तै ‘ब्याड’ राखेका किसानले अहिले धमाधम रोपाइँ गरिरहेका हुन् । उनीहरूले अहिले रोपेको धान चैत अन्तिममा काट्नेछन् । किसानले चैतमै फेरि ‘चैते’ धान रोपाइँ गर्नेछन् ।

सुपर जोन कार्यान्वयनपछि किसान तीन बाली धान खेतीतर्फ आकर्षित भएका हुन् । परियोजनाअन्तर्गत सिँचाइ सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम प्रविधिको प्रयोगले किसानलाई तीन बाली धान खेती गर्न सहज भएको छ ।

यस वर्ष सुपर जोन क्षेत्रको दुई सय बिघामा बोरो धान लगाइँदै छ । ‘अन्य बालीभन्दा धानमै राम्रो फाइदा हुने भएकाले बर्खे धान काटेर थन्काएलगत्तै बोरो धानतर्फ लागेको हुँ,’ कचनकवल ५ का किसान नसिर मियाँले भने, ‘पहिला सिँचाइको सुविधा थिएन । अहिले सिँचाइको सुविधा भएकाले हिउँदमा पनि धान खेती गर्न सहज भएको हो ।’ उनले छिटो पाक्ने हर्दिनाथ १ जातको धान दुई बिघामा लगाएका छन् ।

उक्त दुई बिघा जमिनमा उनले बर्खामा स्वर्णा जातको धान लगाएका थिए । बर्खे धान प्रतिबिघा ८० मन फलाएका छन् । ‘अहिले रोपेको बोरो र चैते धान पनि त्यति नै फल्छ,’ उनले भने, ‘सिँचाइ सुविधा र प्राविधिक ज्ञान पाइयो भने तीन बाली धान खेती गर्न कुनै समस्या छैन ।’

दुई बाली धान अनिवार्य लगाउन प्रेरित गरिरहेको सुपर जोन परियोजना कार्यान्वयन इकाई बनियानीले तीन बाली गर्ने किसानलाई सकेजति सहयोग गर्ने गरेको इकाई प्रमुख धनबहादुर थापाले बताए । उनले खेत बाँझो नराखी बाह्रै महिना कृषि उत्पादनमा लाग्ने किसानलाई सहयोग गर्नु नै परियोजनाको मूल उद्देश्य भएको बताए ।

सुपर जाने क्षेत्रमा गत वर्ष १२ वटा सौर्य सोलार सिँचाइ जडान गरिएको थियो । इकाई कार्यालयले गत वर्ष मात्र १ सय ४४ वटा साना सिँचाइ बोरिङ किसानलाई वितरण गरेको थियो । किसान अहिले सौर्य र साना बोरिङको सिँचाइबाट बोरो धानको रोपाइँ गरिरहेका छन् ।

‘सुपर जोन कार्यान्वयनपछि हामी खेती गर्न उत्साहित बनेका छौं,’ किसान भागिरथा प्याकुरेलले भनिन्, ‘किसानको माग र आवश्यकताअनुसार सहयोग पाउने हो भने तीन बाली धान राम्रो उत्पादन गर्न सकिन्छ ।’

उनले ४ वर्षअघि एक बाली मात्र धान उत्पादन गर्ने गरेका किसान अहिले कम्तीमा दुई बाली अनिवार्य र यो वर्षदेखि तीन बाली धान खेती गर्न थालेको बताइन् । उनले बोरो धान पुस १५ सम्म रोपाइँ सक्ने
गरी किसान खेतमा व्यस्त रहेको बताइन् ।

उनले भनिन्, ‘सिँचाइ सुविधा र गाउँपालिकाको सबै स्थानमा विद्युत् नपुगेकाले विगतमा बर्खेबाहेकको सिजनमा धानलगायत खेती गर्न हामीसँग विकल्प थिएन । अहिले सौर्य सोलार सिँचाइ, साना बोरिङलगायतको सुविधा पाएपछि तीन बाली सम्भव भएको हो ।’

सुपर जोन कार्यान्वयनपछि जिल्लामा धानको उत्पादकत्व वृद्धि भएको छ । गत वर्ष प्रतिहेक्टर ४.६९ टन धान उत्पादकत्व रहेकामा यस वर्ष ४.८ टन पुगेको छ । सुपर जोन क्षेत्रमा १ हजार ९ सय २५ हेक्टरमा धान खेती गर्ने गरिन्छ ।

जसमा २ हजार ८ सय ७ घरधुरी आबद्ध छन् । सुपर जोनअन्तर्गत १ सय ८ वटा सहकारी र समूहमा किसान आबद्ध भएर धान खेती गरिरहेका छन् । यो क्षेत्रमा वर्षामा धान बाली शतप्रतिशत गरिन्छ भने चैते धान गत वर्ष ५ सय हेक्टरमा गरिएको थियो ।

चैते धान बालीको क्षेत्रफल यो वर्ष बढ्ने सुपर जोन इकाई कार्यालयका प्राविधिक सागर विष्टले बताए । कान्तिपुरबाट (अर्जुन राजवंशी)

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments