Online Bichar
शुक्रबार, बैशाख २८, २०८१ | Friday, May 10, 2024

झिलझिले, ११ चैत २०८० । झापाको दमकमा नेपाल र भारतका नेपालीभाषी साहित्यकारहरु सम्मानित भएका छन् । नेपालका प्राध्यापक डाक्टर देवी नेपालसहित पाँच जना लोकप्रिय साहित्यकारलाई पुरस्कृत गरिएको पुरस्कार प्रदायक साहित्यिक संस्था दमक साहित्य कला संगमले जनाएको छ ।

दमक साहित्य कला संगमले शनिवार दमकमा एक भव्य कार्यक्रमको आयोजना गरी नेपालसहित पाँच जनालाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरेको हो । साहित्यका क्षेत्रमा क्रियाशील यस संस्थाले बर्षेनि श्रष्टा सम्मान गर्दै आएको छ ।
कार्यक्रममा भवानी मिश्र पुरस्कारबाट प्राध्यापक डाक्टर नेपाल पुरस्कृत भएका छन् । लामो समयदेखि नेपाली भाषा,साहित्य, कला र संस्कृतिको उत्थानको अभियानमा लागेका नेपाल पूर्व प्राज्ञ परिषद्सदस्य समेत हुन् । विश्वमा वरिष्ठ कविको रुपमा स्थापित नेपाल समालोचक तथा नेपाली भाषाविद् तथा पाठ्यपुस्तकका लेखकसमेत हुन् ।

कार्यक्रममा नेपालसहित सो पुरस्कारबाट डम्बर दाहाल र संखुवासभाका ताराबहादुर बुढाथोकी पनि सम्मानित भएका छन् । यस्तै साहित्यकला श्री पुरस्कार दमककी कमला खनाल र तुलसादेवी न्यौपाने स्मृति पुरस्कार मोरङकी रेखा सुवेदीलाई प्रदान गरिएको संगमका कोषाध्यक्ष ओम खनालले जानकारी दिए ।
सबै पुरस्कारको राशि जनही रु ३५ हजार र साथमा स्मृति चिन्ह र सम्मानपत्र रहेको छ । उनीहरुलाई सम्मान प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपानेले साहित्य र कलाका क्षेत्रमा अहोरात्र खटनेहरुका लागि यस किसिमको सम्मानले थप हौसला र ऊर्जा प्रदान गर्ने बताए ।

सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकारहरु जय आचार्य, टीका आत्रेय, गीताश्री शर्मालगायतले रचना वाचन गरेका थिए भने सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, साहित्यकार चन्द्र भण्डारी, आसाम नेपाली साहित्य समाजका सचिव मदन थापा,उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया