Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

हनोई, भयितनाम, २ चैत २०८० । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

तीमध्ये केहीको १२ वटा स्थानीय अस्पताल र मेडिकल सेन्टरमा उपचार भइरहेको छ भने केहीलाई घरमै उपचारको लागि औषधी दिइएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

अधिकारीहरूले बुधबार राति पर्यटक र स्थानीयसहित पहिले अस्पताल पुगेका ६० जना विषाक्त खानाका कारण बिरामी परेको पुष्टि भएको जनाएका छन् ।

भिएनएक्सप्रेसका अनुसार उनीहरु सबैले यसअघि मध्य तटीय शहरको ट्राम आन्हस्थित एक रेस्टुरेन्टमा कुखुराको मासु र खाना खाएका थिए । न्हा ट्राङ स्वास्थ्य विभागका अनुसार बिहीबार दिउँसो थप सङ्क्रमित भेटिएका छन् ।

अनुसन्धानका लागि बिक्री सम्झौता र खाद्य सामग्रीसँग सम्बन्धित अन्य कागजात पेश गर्न भनेको तर सञ्चालकले कागजात पेश नगरेकोले रेस्टुरेन्टलाई अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयको खाद्य सुरक्षा विभागले शुक्रबार जानकारी गराएको छ । रासस/एएफपी

 

तपाईको प्रतिक्रिया