Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

सुवास पण्डित

चितवन, २४ मंसिर । धुर्मस(सुन्तली फाउण्डेसनले चितवनमा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला बनाउने भनिएको स्थानमा केही दिनदेखि अड्डा जमाएर बसेको गैंडालाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयभित्र पर्ने खाली मैदानमा एक जोडी गैंडा केही दिनदेखि बस्दै आएका थिए । दुई गैंडामध्ये एक भाले गैंडालाई डार्ट गरी नियन्त्रणमा लिएर आइतबार निकुञ्जको कोर एरियामा लगेर छाडिएको हो ।

नजिकको जंगलबाट झण्डै ६ किलोमिटर भित्र यी गैंडा आएका थिए । भरतपुर महानगरपालिका वडा नं. १६ रामपुर बजार नजिक रहेको यो मैदानमा गैंडा नियमित बस्न थालेपछि वरपरका बासिन्दा त्रसित थिए ।

निकुञ्जको टोलीले एक भाले गैंडालाई डार्ट गरेर स्थानान्तरण गरेपनि अर्को भने भागेको छ । त्यसको खोजी जारी छ । डार्ट गरेको आधा घण्टामा गैंडा बेहोस हुन्छ । बेहोस भएको गैंडालाई ब्यूताउन फेरि अर्को सुई दिने गरिन्छ ।

निकुञ्जका साहायक संरक्षण अधिकृत रमेशकुमार यादवसहित करिव ४० जनाको टोलीले विश्वविद्यालयको भेटेनरी संकाय नजिक गैंडालाई डार्ट गरेको थियो । निकुञ्जले १५(२० दिनदेखि हाती लगाएर यहाँबाट भगाउने प्रयास गरेपनि सफल भएको थिएन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले रंगशाला बनाउने मैदान गैंडाको वासस्थानका लागि उपयुक्त देखिएको हुनाले गैंडाले यो ठाउँ नछाडेको हुनसक्ने बताए ।

विश्वविद्यालयको मत्स्य विज्ञान संकायको माछा पोखरी र त्यसको चिस्यानमा पलाएको कलिलो घाँस, राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रले लगाएको मकै र स्थानीयले लगाएका बन्दा, काउली खाएर गैंडा यहिँ नै भुलेको हुनसक्ने प्रमुख संरक्षण अधिकृत ढकालको भनाइ छ ।

‘जंगलभन्दा धेरैभित्र नै गैंडा आएकाले जाने ठाउँ पनि भएन, मेसो पनि पाएनन्, ‘प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘स्थानीयलाई समेत खतरा हुनेदेखेपछि हामीले डार्ट गरेर स्थानान्तरण गर्‍यौं, अर्को भागेको गैंडाको पनि खोजी भैरहेको छ, आज पनि हात्ती लगाएर खोज्छौ ।’

निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले रंगशालाको घाँसे मैदान गैंडाले पनि मन पराएर यहिँ बस्न थालेको हुनसक्ने बताए ।

केहीदिन नारायणगढ बजार क्षेत्र नजिकै निरन्तरजस्तो गैंडा देखिदै आएको थियो । राति र विहानै पनि गैंडा बस्तिमा पस्दा स्थानीय बासिन्दा त्रसित भएका थिए ।

अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments