Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं,  १८ मंसिर । अफ्रिका र माडागास्करबीचको फ्रान्सेली टापु मायोट। तस्बिर स्रोतस् द गार्डियन
अफ्रिका र माडागास्करबीचको फ्रान्सेली टापु मायोट। तस्बिर स्रोतस् द गार्डियन

तीन साताअघि अफ्रिकादेखि क्यानडासम्म रेकर्ड गरिएको तरंगले संसारभरका वैज्ञानिकलाई अचम्ममा पारेको थियो।

नोभेम्बर ११ मा बिहान साढे ९ बजे अफ्रिका र माडागास्करबीचको फ्रान्सेली टापु मायोटबाट उक्त तरंग फैलिएको थियो। करिब आधा घन्टा लामो तरंग अफ्रिकाको दक्षिणी भेग माडागास्कारदेखि जाम्बिया, केन्या, इथियोपिया, चिली हुँदै बेलायत, स्पेन, न्युजिल्यान्ड, हवाई र क्यानडासम्म रेकर्ड गरियो।

आखिर के कारण थियो, जसले १८ हजार किलोमिटर दूरीसम्म रेकर्ड हुने तरंग ल्यायो?

अनुसन्धानमा जुटेका भूगर्भ वैज्ञानिकहरूले यसको जवाफ खोजेका छन्।

समुद्रमुनि ‘ज्वालामुखी विस्फोट’ भएर यति ठूलो तरंग आएको उनीहरूको निष्कर्ष छ।

बेलायतको साउथएम्पटन विश्वविद्यालयका भुइँचालो विशेषज्ञ स्टेफेन हिक्सले नोभेम्बर ११ को उक्त घटनापछि भुइँचालो मापन गर्ने विश्वव्यापी नेटवर्कबाट तथ्यांक डाउनलोड गरे। त्यसको मिहिन विश्लेषण गर्दा उनले एउटा अस्वाभाविक तथ्य फेला पारे– संसारको लगभग आधा भूभागमा रेकर्ड भएको उक्त तरंग भुइँचालो मापन प्रणालीले भने चाल पाएन।

यस्तो कसरी हुन सक्छ? मान्छेले अनुभवै नगर्ने सानोभन्दा सानो हलचल रिठ्ठो नबिराई पत्ता लगाउने भुइँचालो मापन प्रणालीले आखिर यो तरंग किन छुटायो?

यही तथ्यमा घोत्लिँदै प्राध्यापक स्टेफेन के निष्कर्षमा पुगेका छन् भने, भुइँचालो तरंगले अगाडि–पछाडि वा दायाँ–बायाँ हल्लिँदै निश्चित दूरी पार गर्छ। मायोटबाट सुरु तरंगले भने लामो दूरी पार गरे पनि त्यसको गति अत्यन्तै सुस्त थियो।

वैज्ञानिकका अनुसार यसलाई मायोटबाट बेलायत पुग्न ४० मिनेट लाग्यो भने १ घन्टा १५ मिनेटपछि बल्ल हवाई पुग्यो।
हजारौं किलोमिटर क्षेत्रमा एकैपटक आएको भुइँचालोको तरंग। तस्बिरः डेली मेल

समुद्रमा यति पातलो तरंग तीन कारणले आउन सक्ने प्राध्यापक स्टेफेन बताउँछन्।

पहिलो, समुद्रमा बरफका ठूल्ठूला चट्टान फुटेर खस्ने गर्छन्। ती चट्टान खस्नुअघि र पछि यस्तो तरंग रेकर्ड हुन्छ।

दोस्रो, समुद्री किनारमा जमिनको ठूलो हिस्सा भासियो भने यस्तै तरंग आउँछ।

र, तेस्रो, ज्वालामुखी फुट्दा आउने तरंग पनि यस्तै हुन्छ।

‘मायोट टापु छेउछाउ बरफका चट्टान छैनन्। त्यसैले, चट्टान फुटेर समुद्रमा तरंग आउने गुञ्जायसै छैन। समुद्री छेउको जमिन भासिएको भनुँ भने त्यहाँ वरिपरिका हाइड्रोस्टेसनले त्यस किसिमको कुनै हलचल रेकर्ड गरेको छैन,’ प्राध्यापक स्टेफेनले भने, ‘यो तरंगको पछाडि एउटै कारण हुनसक्छ– समुद्रको भित्री गर्भमा कतै ठूलो ज्वालामुखी विस्फोट भयो।’

उक्त ज्वालामुखी मायोट टापुको समुद्री सतहबाट लगभग १७ किलोमिटर तल फुटेको हुनसक्ने उनको प्रारम्भिक अनुमान छ। त्यसैबाट निस्केको तरंग संसारको आधा हिस्सामा फैलिएको उनी बताउँछन्।

‘समुद्रको कुन ठाउँमा ज्वालामुखी फुट्यो, त्यो थप अध्ययनबाट विस्तारै खुल्दै जानेछ,’ उनले भने।

उनका अनुसार मायोटमा ज्वालामुखी विस्फोटको संकेत केही समयदेखि देखिँदै आएको थियो। गत मे महिनामा त्यहाँ ५।८ म्याग्निच्युडको भुइँचालो गएको थियो। ज्वालामुखी विस्फोट त्यसैको नतिजा हुनसक्ने वैज्ञानिकहरू बताउँछन्।

फ्रान्सेली भूगर्भ वैज्ञानिक पियरे ब्रियोलको निष्कर्ष पनि यही छ। उनले समुद्रमुनि ज्वालामुखी फुटेर लगभग एकतिहाइ लाभा फैलिएको बताएका छन्।

यो तरंगबारे सबभन्दा पहिला भुइँचालो विज्ञानमा रुचि राख्ने न्युजिल्यान्डका एक व्यक्तिले थाहा पाएका थिए।

अमेरिकी भौगर्भिक सर्भेको ‘रियल टाइम सिस्मोग्राम’ हेरिरहेका उनले डिस्प्लेमा असामान्य रेखाहरू देखे। त्यसको फोटो ट्विटरमा हालेपछि यसबारे अरूलाई थाहा भयो।
रेकर्ड भएका तरंग

ती व्यक्तिबारे सञ्चारमाध्यमले अरू जानकारी उल्लेख गरेका छैनन्। उनको ट्विटर नाम र उनले राखेका फोटाहरू मात्र सार्वजनिक गरिएका छन्।

उनको ट्विटले भूगर्भ वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई हैरान मात्र बनाएन, उनीहरू यसको कारण खोज्न तल्लीन भए।

कोलम्बिया विश्वविद्यालयका भुइँचालोविद् गोरन एक्सट्रोमको भनाइ उद्धृत गर्दै नेसनल जियोग्राफिकले लेखेको थियो, ‘मैले यस्तो कहिल्यै देखेकै थिइनँ।’

भूगर्भ विज्ञानमै हलचल ल्याएको यो तरंग वैज्ञानिकहरूले नै सामाजिक सञ्जालबाट थाहा पाउनुलाई ‘नयाँ अभ्यासको सुरुआत’ भनिएको छ।

‘अहिलेको जमानामा वैज्ञानिकहरूको मात्र तथ्यांकमा पहुँच छैन। तथ्यांकहरू सबैले हेर्न र पढ्न सक्ने गरी सार्वजनिक छन्। कसैलाई विषयगत रुचि छ भने आफैं सूचना एकत्रित गरेर विश्लेषण गर्न सक्छन्,’ प्राध्यापक स्टेफेनले भने, ‘यसपालि सामाजिक सञ्जालबाट यति ठूलो भौगर्भिक घटना खुलासा हुनु त्यसैको नतिजा हो।’

उनले यो घटनालाई ‘भूगर्भ वैज्ञानिक र नागरिक भूगर्भविदबीचको सहकार्य’ भनेका छन्।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि केही वैज्ञानिकले समुद्रमा कुनै उल्का झरेर तरंग आएको हुनसक्ने अनुमान गरेका थिए। समुद्रमा उल्का झर्दा पनि यति धेरै क्षेत्रफलमा कम्पन ल्याउने सम्भावना उनीहरूले औंल्याएका थिए। यसमा सबैको सहमति भने थिएन।

कतिपयले भने समुद्रमा ठूलो भुइँचालो आएको हुनसक्ने अनुमान गरेका थिए। कसैले पनि भुइँचालो अनुभव नगरेकाले यो तर्क स्वीकार गरिएको थिएन।

श्रोत:एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments