Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

दाङ, १२ मंसिर  । पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

आइतबार साँझ घोराही १७ गुलरियास्थित पानीको तालमा डुबेर बेपत्ता भएका घोराही १५ का लक्ष्मण डिसीको शव बुधबार बिहान फेला परेको हो।

निरन्तरको खोजीको प्रयासपछि चौथो दिन शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पोखरीको पानी पूर्णरूपमा हटाएपछि मात्र युवकको शव फेला परेको हो।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो तालमा डुबेका थिए।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया गाउँमा गत साल घोराही उपमहानगपरपालिकाले कृत्रिम ताल निर्माण गरेको थियो। त्यही तालमा नुहाउन भनि पसेका डिसी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

दुई दिनसम्म दाङमै उपलब्ध नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पौडीबाजहरूले बेपत्ता डिसीलाई खोज्ने प्रयास गरेका थिए । तर त्यो संभव नभएपछि प्रहरीले गृहमन्त्रालयलाई आग्रह गरेर कुलिनटारबाट दुईजना तालिम प्राप्त गोताखोर दाङमा बोलाएको थियो। सशस्त्र प्रहरीमा कार्यरत ती दुईजना गोताखरले मंगलबार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म रवर बोटको प्रयोग गरी खोज्दा पनि डिसीलाई फेला पार्न सकिएको थिएन।

तालमा हिलो र पानीको मात्रा धेरै रहेको हुँदा खोजीमा समस्या भएको थियो।

पीडित र स्थानीयले भने खोजीमा स्थानीय सरकारले समयमै गम्भिरता नदेखाएको भन्दै तालमै नारावाजी गरेका थिए । ‘पहिलो दिन नै तालको डिल फोडौं भन्दा मेयरले माछा भाग्छन् भनेर फुटाउन हुँदैन भने’, एक जना स्थानीयले भने ‘त्यसपछि त्यहाँ उपस्थित स्थानीय माछा ठूलो कि मान्छे ठूलो भन्दै मेयरविरूद्ध नारावाजी गरेका हुन्।’

दाङका प्रहरी प्रमुख पाण्डेका अनुसार रातभरि पम्पिङसेट र मोटर चलाएर बुधबार बिहानसम्ममा तालको पानी सबै सुकाएको थियो।

‘डुबेको तालमा सानो तिनो खोलो जत्रै पानी बग्छ, त्यसैले समस्या भएको थियो,’ एसपी पाण्डेले भने ‘ तर, रातरभर थप क्षमताका पम्पिङसेट र मोटर थपेर सुकाउँदै सफलता हात पार्‍यौ।’

आइतबार दिउँसो साथीहरूसँग क्रिकेट खेलेर सकेपछि १८ वर्षीय लक्ष्मण डिसी र उनका साथी नुहाउन भनि तलाउमा पौडी खेल्न गएका थिए। अरु साथीहरु उत्रन सफल भएपनि डिसी भने तालमा डुब्न पुगेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच प्रहरीले डिसीसँगै क्रिकेट खेल्न गएका उनका साथीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments