Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौ, ९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको छ। केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको हो।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले देशभरका पार्टी नेता, कार्यकर्तासँग व्यापक छलफल गरी तयार गरेको विधान संशोधन मस्यौदा केन्द्रीय कार्य समितिमा पेश भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

पार्टीका सबै निकायसँग व्यापक छलफल गरी तयार पारिएको मस्यौदा केन्द्रीय कार्य समितिमा पेश गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार पार्टीको सम्पूर्ण संरचना बनाउने गरी विधान संशोधन मस्यौदा तयार पारिएको छ। मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ। दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने गरी विधानमा सो प्रस्ताव गरिएको पनि प्रवक्ता लेखकले बताए। त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ। स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको छ।

प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता लेखकले बताए। जस अनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ। सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत् पार्टीको नीति तय गरिने पनि उल्लेख गरिएको छ। प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रिय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ। केन्द्रीय अनुशासन समिति अन्तर्गत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ।

तीन महिना लामो छलफलपछि तयार पारिएको सो प्रस्तावमाथि छलफल गर्न कांग्रेसले आगामी बिहीबार १३ गते पुनः केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। सो बैठकले आवश्यक संशोधनसहित सो प्रस्ताव पारित गरेपछि आगामी मंसिर २८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको महासमिति बैठकमा पेश हुने पनि पार्टीका प्रवक्ता शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments