Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

भद्रपुर, ९ मंसिर । कालोपत्रे सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयले झापाको चारआली–केचना सडक खण्ड अवरोध गरेका छन्। चाराआली– भद्रपुर–केचना सडक खण्ड अन्तरगत भद्रपुर नगरपालिका ६ स्थित भानुनगरमा स्थानीयले तीन घण्टा सडक अवरोध गरेका हुन्।

स्थानीयले बिहान ६ बजेदेखि भानुचोकमा बाँस तेर्साएर सडक अवरोध गरेका थिए। स्थानीयले सडक अवरोध गरेपछि सो सडक खण्ड चल्ने सवारीसाधनहरू भद्रपुर नगरपालिका अन्तर्गतको सडक प्रयोग गरी गन्तव्यतर्फ लागेका थिए।

भद्रपुरको सगरमाथाचोक, अस्पतालमोड, संगमचोक हुदै भानुचोकबाट गिरीचोक हुर्दै झापाचोकसम्मको करिब दुई किलोमिटर सडक निर्माण कार्यमा ढिलासुस्ती हुँदा सर्वसाधारण धुलोको मारमा परेका छन्।

सडक धुलोबाट पीडित बनेपछि तत्काल सडक बनाउँन दवाव दिर्दै स्थानीयले सडक अवरोध गरेको स्थानीय सुशान्त रायमाझीले बताए। सडकमा उड्ने धुलोको विषयमा स्थानीयले पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत कुनै पहल नभएपछि सडक अवरोधमै उत्रिएको उनको भनाइ छ।

स्थानीयले सडक अवरोध गरेपछि सडक खुलाउन वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुसहित प्रहरी टोली घटनास्थल पुगेका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालय झापाका प्रमुखलाई यो विषयमा जानकारी गराइसकेका प्रहरी निरीक्षक जवेगुले आन्दोलित बनेका स्थानीयलाई छलफल तथा वार्ताबाट समस्याको समाधान निकाल्न आग्रह गरेका थिए। ‘सडक निर्माण कम्पनीले तत्काल सडकमा पानी हाल्ने सहमति भएको छ’, स्थानीय भरत राजवंशीले भने, ‘सडकको विषयमा निर्माण कम्पनी, सम्बन्धित निकाय र स्थानीयसँग वडा प्रहरी कार्यालयमा पुनः छलफल गरी समस्याको समाधान गर्ने प्रहरी निरीक्षक जवेगुसँग मौखिक सहमति भएको छ।’

चाराआलीदेखि केचना सम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्य अन्तरगत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कनकाई र याकथुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ।

निर्माण कम्पनीले दुई वर्षको अवधिमा सो सडक खण्डमा करिब आठ किलोमिटर कालोपत्रे सडक निर्माण गरिसकेको छ। सगरमाथाचोकदेखि झापाचोकसम्मको सडक खण्डको बीच भागमै खानेपानी पाइपलाइन छ। खानेपानीको पाइपलाइन नहटाइएका कारणदुई किलोमिटर सडक खण्डको विस्तार कार्य अलपत्रमा परेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments