Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

नेपाल हरेक कुरामा परनिर्भर रहनु पर्ने बाद्यात्मक अवस्था रहदै आएको छ । खाद्यान्न, लत्ताकपडा, तेल नुन देखि औधोगिक मेसिनरी सामानसम्म विदेशको भरमा चल्नु परिरहेको छ । अहिले कार्पेट र गार्मेन्ट्स तथा अलैँची, अदुवा जस्ता केही परम्परागत उत्पादन र केही सीमित औद्योगिक उत्पादन निर्यातमा खुम्चिएको छ ।

गृहको तथ्यांक अनुसार नेपालको सबैभन्दा बढी व्यापार हुने भारतसँग मात्रै कुल व्यापार घाटाको ६५ प्रतिशित पुगेको छ । यो चित्र आफैँमा अर्थतन्त्रको स्वस्थ सूचकांकका दृष्टिले गम्भीर अवस्थाको संकेत हो । तर, नेपालको व्यापारको प्रवृत्तिका दृष्टिले यो नौलो भने होइन । लामो समयदेखि नेपाल मेसिनरी, पेट्रोलियम पदार्थ, यातायातका साधन, खाद्यान्न, शृंगारका सामान, लत्ताकपडा आदिमा परनिर्भर रहँदै आएको छ ।

भारतले विभिन्न बहानामा गर्ने गैरभन्सार अवरोध यो व्यापार घाटाका लागि केही हदसम्म जिम्मेवार भए पनि मूल पक्ष भने नेपालले अहिलेसम्म पनि निर्यातमूलक तुलनात्मक लाभका वस्तुको उत्पादन नै बढाउन नसकेका कारण यस्तो घाटा हुन पुगेको हो । पहिलो कारण, विश्व पुँजीवादी बजारको सेपमा परेर नेपालले उत्पादनमुखी गतिशील पुँजीवादी बाटो होइन, कमिसनमा बाँच्ने व्यापारमुखी पुँजीवादको बाटो अवलम्बन गर्नु हो ।

यसलाई राजनीतिक अर्थशास्त्रको भाषामा दलाल पुँजीले राष्ट्रिय पुँजी विकास हुन नदिने चरित्र ग्रहण गर्छ भनिन्छ । नेपालमा पनि भारतीय पुँजी र पछिल्लो समयमा चिनियाँ पुँजीले सेपमा पार्दै लगेको छ ।

जति धेरै स्वतन्त्र व्यापार भयो, त्यति धेरै ठूलो परिमाणमा उत्पादन गर्न सक्ने फर्मसामु साना उत्पादक सिमान्तीकरणमा पर्छन् । अर्काे, पुँजीवादको विकासको असमान चरित्रका कारणले पनि नेपालले विश्व पुँजीवादी बजारमा प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सकेको छैन ।

सामान्य पुँजीवादी विकासको नियमले उद्योग र सहरी उत्पादन प्रणालीले परम्परागत क्षेत्र अर्थात कृषि क्षेत्रबाट श्रमशक्ति खिचेर अर्थतन्त्रमा संरचनागत परिवर्तनको बाटो खोल्छ भन्ने मानिन्छ । तर, हामीकहाँ भने सहर या पुँजीवादी उत्पादन क्षेत्रको स्वतन्त्र र औद्योगिक विकास हुन नसकेकाले हाम्रो कृषिको अतिरिक्त श्रम सबै खिचिएर विश्व पुँजीवादका नवोदित सहरमा पुगेको छ ।

अर्कातिर निर्यातका लागि हाम्रो प्रतिस्पर्धात्मक क्षमतामाथि पनि यही बाह्य दलाल पुँजीको दबाब थोपरिएको छ । कतिसम्म भने भारतको अर्थतन्त्रमा किसान र कृषिवस्तुले पाउने सहुलियत पनि हाम्रा किसानले पाउन नसक्दा खुला र सहज रूपमा सस्तो मालका रूपमा आयात हुने भारतीय कृषि उपजका तुलनामा नेपाली कृषि उपजको लागत बजार मूल्यभन्दा बढी पर्न जाँदा उत्पादन घट्दै जाने अवस्था आएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments