Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, १६ असार २०८३ । गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ ।

सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।

झन्डै दुई महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायीहरूले लिएका छन् ।

नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका छन् ।

लामो समयको अन्योल चिर्दै व्यवसायीहरूले पनि अब चिया नरोकिनेमा विश्वस्त हुँदै नयाँ खेप पठाउन थालेका छन् । तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक एवं चिया उत्पादक संघका पूर्वअध्यक्ष उत्तम श्रेष्ठले प्रधानमन्त्री कार्यालयको निरन्तरको प्रयास र भारतीय पक्षबाट आएको सकारात्मक सन्देशपछि चिया पठाउन सुरु गरिएको बताए ।

‘चियाको विषयमा हामीले पटक–पटक सरकारसमक्ष कुरा राखेपछि अब अवरोध हुँदैन भन्ने मेसेज ९सन्देश० आएको छ,’ पूर्वअध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यही मेसेजका आधारमा हामीले आज मंगलबार पहिलो लट ९ हजार किलो (एक कन्टेनर) लोड गरेका छौं ।’

चिया निकासीमा देखिएको यो गाँठो फुकाउन प्रधानमन्त्री कार्यालयबाटै विशेष चासो दिइएको थियो । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयकै प्रत्यक्ष हस्तक्षेपपछि नाका सहज भएको बताए ।

‘अस्ति प्रधानमन्त्री कार्यालयबाट हाम्रो अध्यक्षज्यूलाई बोलाहट भयो र त्यहाँ वार्ता पनि भयो, यो सरकारकै प्रयासबाट खुलेको भन्नुपर्छ,’ उपाध्यक्ष गुप्ताले भने, ‘अहिले चियाको निर्यात सहज भएको छ, भन्सार पास भएर चिया गइरहेको छ ।’

चिया निकासीमा देखिएका समस्या अध्ययन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित दुई साताभित्र प्रतिवेदन बुझाउन प्रधानमन्त्री सचिवालयले असार पहिलो साता एउटा अन्तर–निकाय समिति गठन गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवले सदस्य–सचिवको जिम्मेवारी पाएको उक्त समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, गृह, परराष्ट्र र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन् ।

यस्तै भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिवलाई पनि समितिको सदस्यमा राखिएको छ ।

चिया निकासीको दीर्घकालीन समस्या पहिचान गर्न सरकारले गठन गरेको विशेष कार्यदलले पनि आफ्नो काम गरिरहेको वरिष्ठ उपाध्यक्ष गुप्ताले बताए ।

अहिले भारतले बिना कुनै सर्त निकासी पूर्णरूपमा खुला गरेको भने नभएको व्यवसायीहरू बताउँछन् । भारतीय पक्षले ‘र्‍यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था लागु गर्दै निकासीलाई बाटो दिएको हो ।

भारतले चियाको गुणस्तर परीक्षण प्रणाली परिमार्जन गरेसँगै अब नेपालबाट जाने २० प्रतिशत चियाको मात्रै नमुना परीक्षण ९स्याम्पल टेस्ट० हुने भएको छ । जुन १६ मा भारतका वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई आधार मान्दै एफएसएसएआईले जुन २३ मा यससम्बन्धी नयाँ सर्कुलर जारी गरेको थियो ।

नयाँ व्यवस्थाअनुसार भारतमा आन्तरिक खपतका लागि आयात हुने चिया (एचएसएन कोड ०९०२) मा अब ‘जोखिममा आधारित परीक्षण प्रणाली’ लागु हुनेछ । यसअन्तर्गत नेपालबाट जाने ५ वटा गाडी ९खेप० मध्ये एउटालाई मात्र छड्के (र्‍यान्डम)(शतप्रतिशत) चियाको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने नियम लगाएको थियो । उक्त झन्झटिलो नियमका कारण निकासी ठप्प हुँदा पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुगेका थिए ।

चिया निकासी रोकिँदा किसान र व्यवसायी गम्भीर मारमा परेपछि नेपाल सरकारले यो अवरोध हटाउन भारतसँग कूटनीतिक पहल अघि बढाएको थियो । पछिल्लो नयाँ व्यवस्था तिनै निरन्तरका कूटनीतिक प्रयासको परिणाम भएको बताइएको छ ।

पानीट्यांकी भन्सार नाकामा ल्याब नहुँदा चियाको नमुना परीक्षणका लागि कोलकाता नै पठाउनुपर्ने बाध्यता भने कायमै छ । विगतमा भारतीय भन्सारले चियालाई लामो समय होल्ड गर्ने र झन्झटिलो नियम लगाउने गरेका कारण व्यवसायीहरू अझै पनि पूर्णरूपमा ढुक्क भने भइसकेका छैनन् ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले हिजो सोमबार दुई गाडी चिया नेपालको भन्सार पार गरेर भारततर्फ गएको बताए । तर, भारतीय भन्सार ९इन्डिया कस्टम० बाट उक्त चिया जाँचपास भएर अघि बढ्यो वा रोकियो भन्ने आधिकारिक जानकारी नेपाली भन्सारलाई प्राप्त नभएको उनको भनाइ छ ।

आज भने अहिलेसम्म कुनै पनि व्यवसायीले चिया निर्यातका लागि भन्सारमा घोषणा ९डिक्लियर० गर्न नआएको उनले जानकारी दिए । यद्यपि, भन्सार कार्यालयको समय अझै बाँकी रहेकाले आजै थप गाडी आउन सक्ने सम्भावना भने रहेको उनले बताए ।

निकासीको ढोका खुलेसँगै भारतीय बजारमा नेपाली चियाको माग फेरि बढ्न थालेको छ । भारतीय खरिदकर्ताहरूले धमाधम नयाँ अर्डर पठाउन थालेको व्यवसायीहरूले बताएका छन् ।

‘वातावरण सहज भएपछि भारतीय आयातकर्ताले निकै चासो देखाउन थालेका छन्,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने, ‘हामीलाई चियाको स्याम्पल पठाउनुस्, हामी हेर्छौं भन्न थालेका छन्, ।’

हाल पहाडमा उत्पादित अर्थोडक्स चिया मात्र भारत जान थालेको र तराईको सिटिसी चियाको भने कारोबार सम्झौता हुन बाँकी रहेको उनले बताए । अबका दिनमा नेपाली चियाको भविष्य भारतीय चिया बोर्डले देखाउने गतिविधिमै निर्भर रहने व्यवसायीहरूको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया