Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

गौरादह, १६ असार २०८३ । गौरादह नगरपालिका वडा नं. २ ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्गलबार गौरादह नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ।

वडाध्यक्ष गोपालप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम, योजना कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहबारे जानकारी सार्वजनिक गरिएको थियो। कार्यक्रममा सार्वजनिक सुनुवाइको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै वडाध्यक्ष कोइरालाले वडा कार्यालय पारदर्शी, जनउत्तरदायी र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा वडा सदस्य शंकर कट्टेलले वडाका योजना तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी वडा सचिवले दैनिक प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को असार १५ गतेसम्म वडा नं. २ ले ३७ लाख १ हजार ४६८ रुपैयाँ ३० पैसा राजस्व संकलन गरेको जनाएको छ। साथै चालु आर्थिक वर्षभित्र ५३ वटा नीति तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि सार्वजनिक गरिएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विकास निर्माण, सेवा प्रवाह तथा आगामी योजनाका विषयमा जिज्ञासा र सुझाव राखेका थिए। उठेका प्रश्नहरूको जवाफ दिँदै वडाध्यक्ष कोइरालाले वडा कार्यालयले नागरिकको सुझावलाई आत्मसात् गर्दै अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया