Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

चितवन, ३ मंसिर । सडक विभागका इन्जिनियर, ठेकेदार र विद्युत प्राधिकरणको काम गराइको लज्जास्पद नमूना पूर्वीचितवनको रत्ननगरमा देख्न सकिन्छ । सवा दुई किलोमिटर सडक निर्माण गर्न झण्डै चार वर्ष पुग्नै लाग्दा काम सकिनु त कता हो कता, उल्टै बनेको भनिएको सडक भत्काइएको छ ।

कन्सल्टेन्टको गलत डिजाइनका कारणले सडक गुणस्तरहीन भएको भन्दै निर्माण गरिएको पिच भत्काएर नयाँ बनाउन थालिएको हो ।

यसअघि सडकको डिजाइन ललितपुरको नर्थस्टार कन्सलटेन्टले गरेको थियो । १६ महिनामा सक्ने भनेर सुरु भएको काम नसकिँदै बनेको सडक पनि भत्काउनुपर्ने अवस्था आएको छ । कालोपत्रे गरेपछि पनि सडक भासिन थालेपछि झन्डै तीन सय मिटर पिच पुनः बनाउन सडक कार्यालयले भत्काएको छ । डिजाइन गलत हुँदा सडक निर्माणको काम नसकिदै सडक भत्कने, पिच थुप्रिने गरेको थियो । सडक डिभिजन कार्यालयले सडकको पुनः डिजाइन गरेपछि तीन सय मिटर पुन बनाउन सडक भत्काइएको हो ।

१० टन मात्रै क्षमताको गाडीको भार धान्न सक्ने गरी सडक पिच गरिएको थियो । तर, ठेकेदारले यो सडकमा मालवाहक हेभी साधन गुड्ने भएका कारण यो डिजाइन ६५ टनसम्मको हुनुपर्ने बताउँदै आएको थियो । ‘जति बजेट र जस्तो इष्टिमेट भयो त्यही अनुसार काम गरियो, तर अहिले आएर समस्या आयो,’ सडक निर्माणको ठेक्का लिएको श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले भने, ‘मुग्लिन नारायणगढमा भन्दा बढी भार भएका गाडी यहाँ गुड्छन् ।’

यो खण्डमा पाँच सेन्टिमिटर मात्रै कालोपत्रेको तह छ । अब १० सेन्टिमिटरको पिच निर्माण गरिने कार्यालयका प्रमुख धर्मेन्द्र झाले बताए । कुल ५० मिटर चौडा यो सडकमा बीचमा दुई मिटर चौडा डिभाइडर रहेको छ ।

१९ करोड ७० लाखमा निर्माणको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले लिएको थियो । तीन सय मिटर सडक निर्माणमा यसअघि लागेको लागत रकम ठेकेदारले पाउने छैन ।

१६ महिनाभित्र काम सम्पन्न गरिसक्ने गरी २०७२ असार २९ गते काम सुरु गरेको उसले सम्झौताअनुसार २०७३ असोज २९ मै सम्पन्न गर्नुपथ्र्यो । २०७४ असोज २९ सम्म काम सक्नुपर्ने गरी म्याद थपिएको छ । त्यसमा पनि काम सकिएन । २०७५ असोज मसान्तसम्म थपिएको अर्को म्याद पनि सकियो । अझै काम बाँकी रहेकोले अर्को म्याद थप गर्नुपर्ने डिभिजन प्रमुख झाले बताए ।

विद्युत् प्राधिकरणले बिजुलीको पोल सार्न ढिलाइ गरेका कारण दक्षिणतर्फ सर्भिस रोड, ग्रिनरी र फुटपाथ निर्माण गर्न समस्या भएको उनको भनाइ छ । डिभिजनले विद्युतका पोल सार्न १ करोड २० लाख बजेट रकम आएको जनाएको छ । त्यसमध्ये २० लाख रकम दिइसकिएको छ । विद्युत प्राधिकरण टाँडी शाखाले डेढ करोड रकम मागेको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments