Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, १ मंसिर २०७८ । कतारसँगको टी–२० क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको पहिलो खेलमा १ सय १९ रनले विजयी भएको नेपाली महिला राष्ट्रिय टीम दोस्रो खेलमा ६१ रनले विजयी भएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

उसका लागि कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय पारी खेल्दा कविता कुँवरले ३१ र अप्सी बेगमले अविजित रहँदै २३ रन बनाए । बलिङतर्फ एन्जेलिन मारेले दुई विकेट लिइन् ।

१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतारको महिला टीमले १९।३ ओभरमा सबै विकेट गुमाएर ६८ रनमा समेटियो ।

उसका लागि कप्तान आयसाले २४ तथा केरि पोनसेटले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नेपालका सरस्वती कुमारी एक्लैले चार विकेट लिँदा रुबिना क्षेत्रीले दुई विकेट लिइन् ।

तीन खेलको सिरिजको अन्तिम खेल बिहीबार दिउँसो पौने चार बजे हुनेछ ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको सिरिज खेलेको हो । एसिया छनोट आगामी सोमबारदेखि युएईमा हुँदैछ । जसका लागि नेपाली टोली शुक्रबार त्यसतर्फ जाँदैछ ।

पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ७ गते भुटान, ९ गते कुवेत, १० गते मलेसिया र १२ गते युएईसँग खेल्ने तालिका छ ।

एसिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

 

तपाईको प्रतिक्रिया