Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठ्माडौं, २० साउन २०७८ । बङ्गलादेशबाट सरकार–सरकार (जीटुजी) सम्झौताका आधारमा रासायनिक मल ल्याउन सफल भएपछि सरकारले अन्य थप पाँच देशबाट त्यही प्रक्रियाबाट मल ल्याउने पहल सुरु गरेको छ ।
त्यस क्रममा भारतबाट जीटुजीबाट मल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयले जनाएको छ । त्यससँगै चीन, बङ्गलादेश, ओमन, मोराकोलाई पनि मल खरिदका लागि सरकारी स्तरमा पत्र पठाइएको छ । एक साताअघि मात्र परराष्ट्रमार्फत पत्र पठाइएको र ती देशहरूबाट कुनै प्रतिक्रिया आई नसकेको जनाइएको छ ।
यी चारवटा देशबाट जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्रमन्त्रालयमार्फत यी देशहरूलाई पत्र पठाएको मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, जीटुजीबाट बङ्गलादेशबाट मल ल्याइसकेको छ भने भारतसँग सबै प्रक्रिया पूरा गरी सम्झौतापत्रमा हस्ताक्षर गर्न मात्र बाँकी छ । यही बीचमा विभिन्न चारवटा देशसँग पनि प्रक्रिया सुरु गरिएको छ । ’ देशमा बर्सेनि हुने मलका हाहाकार समाप्त पार्न आपत्कालीन रूपमा यो प्रक्रिया सुरु गरिएको बताउँदै उहाँले सबै काम ग्लोबल टेन्डरमार्फत गर्न काम थालिएको जनाउनुभयो ।
‘हामीलाई जति मल चाहिन्छ त्यसको ३० प्रतिशत मात्र जीटुजीमार्फत ल्याउन पाउने प्रावधान रहेको छ, अहिले पाँचवटा देशबाट जीटुजीमार्फत मल ल्याउने प्रक्रिया सुरु गरिएको छ, जहाँ सस्तो र सहुलित हुन्छ, त्यहीबाट मल खरिद गर्छौं,’ उहाँले भन्नुभयो ।
घनश्याम भुसाल कृषि मन्त्री भएकाबेला पनि बङ्गलादेश, भारत, चीन, ओमान, मोराको, रुससँग जीटुजीमार्फत मल खरिद गर्ने प्रक्रिया सुरु गरेको थियो । तर त्यसमध्ये बङ्गलादेशबाट मात्र ल्याउन सफल भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले बताउनुभयो ।

बङ्गलादेशबाट मल ल्याई नै सकियौँ, भारतसँग प्रक्रिया चलिरहेको छ । चीन, ओमान, मोरक्कोले त्यतिबेला दिएन फेरि प्रक्रिया सुरु गरिएको छ, उहाँले भन्नुभयो, ‘रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्यमा अत्यधिक वृद्धि भएको कारण ठेकेदारहरूले ल्याउन मानिरहेका छैनन् । पटक पटक टेन्डर रद्द भइरहेका छन् । यसरी टेन्डर रद्द भइरहँदा नेपालमा मलको अत्यधिक अभाव देखिने भएको हुनाले आकस्मिक रूपमा जीटुजीमार्फत मल ल्याउन लागिएको हो । ’
कृषि समग्री कम्पनीसँग हाल नौ हजार मेट्रिक टन डीएपी, १८ हजार मेट्रिक टन युरिया मौज्दात छ । यो धान रोपाइँसम्मका लागि यो मलले पुग्छ । त्यसपछि धानका लागि चाहिने मलमा केही समस्या हुनसक्ने सम्भावना देखेपछि सरकार त्यसको व्यवस्थापनामा लागेको हो ।गोरखापत्र अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments