झापा, १८ असार २०७८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ५ सय ६६ र एन्टिजेन परिक्षणबाट ४ हजार ३० जना गरि १० हजार ५ सय ९६ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार २ सय ९९ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ३ सय ९१ र एन्टिजेन परिक्षणबाट ९ सय ८ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३६ हजार ७ सय ५५ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको जनाइएको छ । एकैदिन ३ हजार ४ सय ५१ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९४ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ५७ हजार ८ सय २९ जना र एन्टिजेन परिक्षणबाट १ लाख ९६ हजार ६ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा २६ हजार ३ सय ३६ जना रहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ३८ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय ३२ जना आई.सी.युमा र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १४ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २५ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ३४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






