झापा, १६ असार २०७८ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ संक्रमित थपिंदा एकैदिन ३ हजार ५ सय ९७ जना संक्रमित निको भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार १ सय ८७ र एन्टिजेन परिक्षणबाट ४ हजार ३ सय ८१ जना गरि ११ हजार ५ सय ६८ जनामा कोरोना परिक्षण गर्दा कुल २ हजार ८ सय ९२ संक्रमित थप भएको हो । जसमा पीसीआर परिक्षणबाट १ हजार ८ सय ८९ र एन्टिजेन परिक्षणबाट १ हजार ३ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ६ लाख ३८ हजार ८ सय ५ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ३४ हजार ९ सय ४४ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ६ लाख ७३ हजार ७ सय ४९ पुगेको जनाइएको छ । एकैदिन ३ हजार ५ सय ९७ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ९६ हजार १ सय ३२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।
यस्तै, आजसम्म पीसीआर विधिबाट ३३ लाख ४४ हजार १ सय ३३ जना र एन्टिजेन परिक्षणबाट १ लाख ८८ हजार ८ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ३० हजार ५ सय ४४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार १७ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २७ जना आई.सी.युमा र १ सय ७५ जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित १७ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा २७ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ४१ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।






