झापा,१४ जेठ २०७८ । देशभर आज कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या उच्च रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमित थपिंदा एकैदिन ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ६ हजार ८ सय ५५ र एन्टिजेन परिक्षणबाट ९६ जनाको गरि ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको जनाइएको छ । एकैदिन ९ हजार ८ सय ४१ जना डिस्चार्ज हुँदा नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।
यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट १९ हजार ३ सय १३ र एन्टिजेन परिक्षणबाट ७ सय ९७ जना गरि कुल २० हजार १ सय १० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३० लाख १७ हजार ३ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ । जसमा सरकारी बाट १८ लाख ४३ हजार १ सय ७२ जनाको र निजी बाट ११ लाख ७४ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार हालसम्म ८ सय ९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।
यस्तै, देशभर सक्रिय संक्रमित भई १ लाख १३ हजार ३ सय ९४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेसनमा १ लाख ५ हजार ४ सय ४४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ५० जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १ हजार ६ सय २७ जना आइसियुमा र ४ सय ५० जना भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ५० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा ११ जिल्ला रहेका छन् ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ९६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सरकारी ५५ र निजी ३६ गरि ९१ वटा पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेका छन् ।






