शान्ति सुब्बा
गौरादह, २४ वैशाख २०७८ । झापाको गौरादहमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना फैलिएसँगै संक्रमितको संख्यामा पनि वृद्धि हुँदै गएको हो । कोरोना संक्रमणका कारण गौरादह-४ कि ५० वर्षिया शान्तिदेवी ताजपुरीयाको मृत्यु भएको कोभिड-१९ फोकल पर्सन पर्शुराम भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि हिंजो(बिहिबार)उपचारका लागि दमकको एड्भान्स हस्पिटलमा लगिएकोमा पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । मृतक महिलाको उपचारकै क्रममा हिंजो राति ११ः३० बजे मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिनुभयो ।
कोरोनाको दोस्रो भेरियेन्ट देखा परेसँगै लामो समयको अन्तरालपछि कोभिड-१९ संक्रमणबाट पहिलोपटक एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको ५ जना परिवार मध्ये २ जना छोरामा यसअघि नै कोरोना पोजेटिभ देखिएकोले उपचारका लागि धरानको विपी मा र दमकको एडभान्स हस्पिटलमा उपचाररत रहेको गौरादह-४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिनुभयो ।
यस्तै, घरमा रहेका मृतक महिलाका श्रीमान र बुहारीमा पनि हल्का ज्वरो रुघाजस्तो लक्षण देखा परेको र उनिहरुको स्वाब संकलन गरिने साथै संक्रमित मृतक महिलाको सम्पर्कमा आएका आफन्त र छिमेकीको कन्टयाक्ट ट्रेसिङ्का आधारमा पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्न अहिले स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
यसैबीच, कोरोनाका कारण संक्रमित महिलाको मृत्यु भएसँगै त्यस स्थानलाई र वरिपरीको क्षेत्रलाई पूर्ण रुपमा शिल गरिएको जनाइएको छ । कोरोना संक्रमण अन्यत्र फैलिन नदिन गौरादह नगरपालिकाको ४ र ५ को सीमानामा पर्ने बाटोको पूर्व, चैतु चोकबाट पश्चिम, रंगपुर बजारबाट दक्षिण र कञ्चनजंघा स्कुलको पूर्व, पश्चिम, उत्तर पूर्ण रुपमा शिल गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
यस्तै, हिंजो(बिहिबार) गौरादह-२ र ४ का १ महिला र १ पुरुषमा संक्रमण पुष्टी भएको छ । यो सँगै २०७७ फागुन देखि आज सम्मको कुल नयाँ संक्रमितको संख्या २९ महिला र ३७ पुरुष गरि ६६ जना रहेको जनाइएको छ । संक्रमित सबै स्थानियबासी रहेको जनाइएको छ ।
यस्तै, आजसम्म कोरोना संक्रमित भई २ जना पुरुष डिस्चार्ज भएका छन् । २८ महिला र ३५ पुरुष गरि ६३ जना सक्रिय संक्रमित हस्पिटल र होम आइसोलेसनमा रहेका छन् । कोभिड–१९ का कारण गौरादहमा १ जना महिलाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ पुगेको जनाइएको छ ।






