Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

थिम्पु, ३ कात्तिक । भुटानमा बिहिबार सम्पन्न चुनावबाट नौ जना नेपाली भाषी सांसद निर्वा्चित भएका छन्। भुटानको नेशनल एसेम्ब्ली (संसद) को तल्लो सदनमा निर्वा्चित भएका ४७ जनामध्ये नौ जना नेपाली भाषी छन्।

नेपाली नौ जना नै भुटानमा चुनाव जितेर सरकार बनाउने तयारीमा रहेको नयाँ पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) बाट निर्वा्चित भएका हुन्। भुटानको निर्वाचन आयोगले आधिकारिक रुपमा जनाएअनुसार भुटानमा सांसद निर्वा्चित भएका नेपाली भाषीमा जयबीर राई, हेमन्त गुरुङ, लोकनाथ शर्मा, गणेश घिमिरे, दिलमाया राई, दिनेशकुमार प्रधान, टेकबहादुर राई, विमल थापा र गर्जमान राई छन्।

नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वा्चित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

हिमाली राज्य भुटानको ७ लाख ५८ हजार कुल जनसंख्यामध्ये २०१७ को अन्तसम्मको तथ्याङकमा ३५ प्रतिशत ल्होत्साम्पा अर्थात नेपाली भाषी रहेको अन्तर्रा्ष्ट्रिय अध्ययनहरूले जनाएका छन्। भुटानीहरु स्थानीय भाषामा नेपालीलाई ल्होत्साम्पा अर्थात ‘दक्षिणका बासिन्दा’ भन्छन्।

सन् १९९० को दशकमा भुटानबाट एक लाख १५ हजार नेपाली भाषी विस्थापित भएर पूर्वी नेपालमा शरणार्थी बनेका थिए, जसमध्ये एक लाख भन्दा बढी तेस्रो मुलुकमा पुनस्थापित भैसकेका छन्।

संसदको ४७ मध्ये ३० सिट जितेको नयाँ पार्टी डिएनटीका सभापति डा. लोटे छिरिङ सरकार बनाउने गृहकार्यमा जुटेका छन्। डिएनटीले पार्टी सभापति छिरिङलाई नै नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। पार्टीमा करिब एक तिहाई सांसद नेपाली भाषी भएकाले उनीहरू पनि मन्त्रीपरिषदमा समावेश हुने अनुमान गरिएको छ।

यसअघि पनि भुटानको संसदमा नेपाली भाषी निर्वा्चित हुँदै आएका छन् जसमध्ये केही मन्त्री समेत भैसकेका छन्। नेपाली भाषी सांसदमध्ये हेमन्त गुरुङ पूर्व सांसद हुन् भने जयवीर राई आर्थिक र वित्तीय विज्ञ तथा दिनेशकुमार प्रधान शिक्षाविद् हुन्। यसैगरी लोकनाथ शर्मा यातायात तथा सामुदायिक सेवामा सक्रिय व्यक्ति हुन्। दिलमाया राई विकास विशेषज्ञ मानिन्छिन् भने गणेश घिमिरे व्यापारी हुन्। टेकबहादुर राई सिभिल इन्जिनियर र गर्जमान राई आइटी इन्जिनियर रहेको डिएनटीले जनाएको छ। विमल थापा चाहिँ किसान हुन्।

व्यवसायिक पृष्ठभूमि हेर्दा नौ जना नै नेपाली भाषी सांसद आ–आफ्नो क्षेत्रमा स्थापित व्यक्तित्व लाग्छन्। भुटानको संसदमा प्रमुख प्रतिपक्षी दल बनेको फुन्सुम शोग–पा (डिटिपी) ले पनि पाँच नेपाली भाषीलाई उम्मेदवार बनाएको थियो। तर यो पार्टीले संसदमा १७ सिट जित्दा एक जना पनि नेपाली भाषी निर्वा्चित हुन सकेनन्।

नौ जना नेपाली भाषी सांसद जितेको डिएनटीले नेपाली भाषीको बाक्लो बसोबास रहेको भुटानको दक्षिण पश्चिम क्षेत्रबाट राम्रो परिणाम हात पारेको छ।

सन् २०१३ मा छिरिङ तोग्बेले नेतृत्व गरेको पिपुल्स डेमोक्य्राटिक पार्टी (पिडीपी) ले पनि त्यही क्षेत्रमा आफ्नो बर्चश्व स्थापित गरेर सरकार गठन गर्न सफल भएको थियो। यसपटकको चुनावमा त्यो क्षेत्रको मत डिएनटीमा सरेको देखिन्छ, जसले गर्दा पाँच वर्षअघि मात्रै गठन भएको यो पार्टीलाई सरकार गठन गर्ने जनमत प्राप्त भयो।

भुटानमा संसदको निर्वाचन दुई चरणमा हुने प्रावधान छ। संविधानअनुसार पहिलो चरणमा मतदाताले राजनीतिक दल छान्न पाउँछन्। प्रारम्भिक चरणमा देशव्यापी रुपमा सबैभन्दा बढी मत ल्याउने दुई दलले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार उठाउँछन्। दोस्रो चरणको चुनावमा जसले बहुमत ल्याउँछ, सरकार उसैले बनाउँछ।

भुटानको संसदमा राजनीतिक दलबाट मात्रै उम्मेदवार हुन पाइन्छ, जसको शैक्षिक योग्यता स्नातक हुनैपर्छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments