Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, २७ पुष २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृद्येश त्रिपाठीले कोरोना भाइरस विरुद्धको खोप समयमा नै नेपालमा ल्याउने दाबी गर्नुभएको छ ।

मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप ल्याउन विभिन्न देशसँग राजनितिक एवं कुटनीतिक प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

खोप ल्याउने प्रक्रिया पारदर्शी हुने भन्दै मन्त्री त्रिपाठीले खोप अभियानको रुपमा निःशुल्क वितरण हुने जानकारी दिनुभयो । देशभर रहेका १६ हजार खोप केन्द्र र ५ हजार जनशक्तिलाई परिचालन गरेर खोप अभियान सुरु गराउने मन्त्री त्रिपाठीको भनाइ छ ।

देशभर २ देखि ८ डिगी्र तापक्रममा राख्न सकिने १ लाख ७७ हजार डोज खोप भण्डारण गर्न सकिने गरी क्षमता विस्तार गरिएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । खोप प्राप्त गरेको ७ दिन भित्र वितरण गर्न सकिने गरी तयारी भएको उहाँको भनाइ छ । सरकारले माइनस २० डिग्री तापक्रममा राखिने ३ प्रतिशत खोप भण्डारण् गर्न सक्ने गरी क्षमता बढाएको दाबी गर्नुभयो ।

अन्य देशमा धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको अवस्थामा नेपालमा भने अझैसम्म पनि खोप कहिले ल्याउने भन्नेबारे सरकारी पक्ष नै अनविज्ञ छ । मन्त्रीले समयमै खोप ल्याउँछु भनिरहँदा अमेरिका र बेलायतमा फाइजर खोपको दोस्रो डोज लगाउन सुरु गरिसकिएको छ भने भारतमा केही दिनमै खोप अभियान सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया