Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झापा, २३ असोज २०७७ । कोरोना संक्रमणका कारण झापाका १ सहित ४ को मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको हो। झापाका एक र सुनसरीका तीन पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

दमकका कोभिड-१९ फोकल पर्सन कुवेर भट्टराईका अनुसार झापाको दमक नगरपालिका–९ का ५२ वर्षीय संक्रमितको बिहीबार मृत्यु भएको जानकारी दिनुभयो। असोज १८ गते धरानको कोभिड अस्पताल भर्ना भएका दमकका संक्रमितको बिहीबार बिहान मृत्यु भएको हो । हालसम्म दमकमा कोरोना संक्रमित १, ७ र ९ नं. वार्डका ३ पुरुषको ज्यान गएको छ ।

यस्तै, इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ । इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पताल ल्याइएको थियो ।

त्यस्तै दुहबीका संक्रमित असोज १२ गते भर्ना भएका थिए । इटहरीका पुरुषमा कुनै दीर्घरोग नदेखिएको तर दुहबीका पुरुष लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ ।

यसैगरी धरान उपमहानगरपालिका–८ का ४६ वर्षीय पुरुषको पनि संक्रमणका कारण बिहिबार मृत्यु भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया