Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

दमक, १२ भदौ । कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङले जानकारी दिए।

८३ वर्षीय ती वृद्धका दुवै मिर्गौला फेल भएको र लामो समयदेखि उपचारका क्रममा रहेको थुलुङले बताए। उनले विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए। उनी समुदाय स्तरमा कोरोना देखिने गाउँपालिकाका पहिलो व्यक्ति पनि थिए।

उनीपछि कन्ट्याक ट्रेसिङ गर्दा उनकै परिवार सदस्यलगायत अन्य समुदायका व्यक्तिमा पनि कोरोना देखिएको थियो। यसअघि कोरोनाका कारण दमक नगरपालिकाका एक व्यक्तिको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। तर, उनी कोरोना संक्रमण देखिनु अघि नै काठमाडौंमा रहेका थिए।

निषेधाज्ञा जारी

समुदाया स्तरमा कोरोना संक्रमण देखिएलगत्तै कमल गाउँपालिकाले लकडाउन गरेर कन्ट्याक ट्रेसिङको काम थालेको थियो। तर, संक्रमण झनै बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयलेनै निषेधाज्ञा समेत जारी गरी संक्रमण नियन्त्रणका लागि कडा प्रयास थालेको छ।

पहिलो पटक जारी गरिएको निषेधाज्ञा शनिबारसम्म रहने छ। तर, संक्रमितको संख्या बढिरहेकाले अवस्था सहज भई नसकेको स्वास्थ्य शाखा प्रमुख थुलुङले बताएका छन्। कमल गाउँपालिकामा कोरोना संक्रमण देखिएका १० मध्ये तीनजना उपचारपछि घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments