Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा, ६ साउन २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २७ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप १ सय ५० जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय ९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ९ सय ६३ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट ३ लाख २३ हजार ७ सय ४९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २१ हजार ७ सय ४ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ५ हजार ४ सय ७७ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय २९ व्यक्तिहरु रेडजोनमा परेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ८ सय ६० , प्रदेश २ मा ४ हजार ६ सय ८५, बागमती प्रदेशमा ८ सय ८२, गण्डकी प्रदेशमा १ हजार ४ सय ५, प्रदेश ५ मा ४ हजार १ सय ९८, कर्णाली प्रदेशमा १ हजार ८सय ३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी ७ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त, रहेको गौतमले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

यसैबीच, सशस्त्र प्रहरी सीमा सुरक्षा बल काँकरभिट्टाका दुई प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको आजको रिपोर्ट अनुसार उनीहरुमा संक्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले संक्रमित दुबै जनालाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको बताए । यो सँगै झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया