Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

जनप्रतिनिधिहरु यसकारण जनकारवाहीको लागि योग्य छन्

डण्डिराज घिमिरे ‘बिबेक’
“मौनताले कहिल्यै अधिकार पाउन सक्दैन । अधिकार कसैले माथिबाट खसाल्दैन । अधिकार तलबाट दिइएको दबाबबाट मात्र पाउन सकिन्छ ।” – रोगर बाल्डविन
आर्थिक बर्ष २०७४÷०७५ मा झापाको गौरादह नगरपालिका कार्यसम्पादन मूल्यांकनमा नेपालका कमजोर २३ नगरपालिका भित्र किन र के कति कारणले पर्यो ? गौरादहको राष्ट्रिय स्तरमा समेत बदनाम गराउने मुख्य हात कसकसको छ ?

के गौरादहका सर्बसाधारण जनताको हस्तक्षेपको कारण नगरपालिकाको कार्यसम्पादन कमजोर भएको हो ? कार्यसम्पादन मूल्यांकनमा भएको कमजोरीको कारण उत्पन्न नैतिक क्षती, अनुदान कटौति, बदनामीको जिम्मेवार को हुने ?

आफ्नो निर्दोश र अमूल्य मतदानले जनप्रतिनिधि निर्वाचित गराउने जनताको के दोस छ यसमा ? जनताको मौनतालाई कमजोरी ठानेर तिमीहरुले नाचेको नङ्गो नाच हेर्दाहेर्दा जनता आजित भैसकेका छन् । सुन्दर र सभ्य गौरादह नगरीलाई कमजेर र बदनाम बनाउने नगर कार्यपालिकालाई अब जनकारबाही किन नगर्ने होसियार ?

गौरादहका जनप्रतिनिधि महोदय तिमीहरु संग जवाफदेहिता छ ?

१, नगरपालिकामा भएका राम्रा सकरात्मक कामको रिपोर्टिङ गर्न सम्बन्धित उपल्लो निकाय र बिभागमा प्रतिबेदन पेश गर्न तिमीहरुलाई कसले रोक्यो ? नागरिकले ?
२, कार्य सम्पादन मूल्यांकनमा किन पठाएनौ ? अहिले पनि कयौं नगरपालिकाले वडा कार्यलय स्थापना गरेर वडाबाट कार्यसम्पादन गर्नसकेका छैनन् तर गौरादहले सुरुदेखि नै सम्बन्धित वडाकार्यलयबाट कार्यसम्पादन गरिरहेको छ । रिपोर्टिङ नै नगर्नुको पछाडि तिम्रो नियत नै खराब छ । यदि जान्दैनथियौ भने किन बिज्ञहरुको सहयोग लिएनौ ? तिम्रो मै सर्बज्ञ हुं भन्ने अहंकार जिम्मेवार छ कि छैन यसमा ?
३, स्थानीय सरकार संचालन ऐन २०७४ , स्थानीय तह आर्थिक व्यवस्थापन निर्देशिका २०७४, स्थानीय तहको उपभोक्ता समिति गठन कार्यविधि २०७४, नगर कार्यपालिका (कार्यविभाजन) नियमावली २०७४ किन मानेनौ ? के नगरकार्यपालिकाले देशको नीतिनियम कानुन मान्नु पर्दैन ? यदि मानेका थियौ र छौ भने किन कार्य सम्पादनमा कमजोर प्रमाणित भयौ ?
४, जनप्रतिनिधि महोदय कार्य सम्पादनमा सहजताको लागि अन्य नगरपालिका गाउँपालिकाले अवस्यक स्थानीय नियम कानुन बनाउन र राजपत्रमा प्रकाशन गर्न मिल्ने गौरादहमा नमिल्ने किन ?
५, नगरसभाले पास गरेका कुनै पनि योजना सम्पन्न गर्न तथा नीति कार्यक्रम कार्यान्वयनमा तिमीहरुलाई नागरिकले कहाँ कहाँ अवरोध गरे जवाफ छ ? वार्डमा सम्पन्न भएका योजनाहरुको कार्यसम्पादन मूल्यांकनमा खोई ? कुन कुन सूचकमा गौरादह कमजोर भएको हो कार्यसम्पादन मूल्यांकनमा ?
६, अन्य नगरपालिकाले नगरसभा सम्पन्न गर्दैगर्दा तिमीहरु भने कार्यपालिकाको बैठक पनि नबसी अल्पमत र बहुमतको दाउपेचको जुवारी खेलेर बसेका थियौ । कार्यपालिकाको बैठक समयमा बस्न र समयमै नगरसभा सम्पन्न गर्न तिमीहरुलाई नागरिकले रोके ? कि तिमीहरुको गैर–जिम्मेवार बालहठले ?
७,नगरसभाले पास गरेका नीति तथा कार्यक्रम र बजेट नगरबासीको पहुँच सम्म पुग्नेगरी सार्वजनिक नगरेर सु–सुचित हुनपाउने नगरिकको मौलिक हक हनन् किन गर्यौ ?
८, नगरस्तरीय गौरवका आयोजना कार्यन्वयनमा छलकपट र दोशारोपण गर्दै बिबादित उपभोक्ता समिति निर्माण गर्ने, नगरपालिकाको भवन निर्माणको काम सम्पन्न नगरी भाडकै घरमा बस्न रमाउने र नगरसभाको निर्णयलाई छायाँमा पार्दै कार्यपालिकाले योजना संसोधन र रकमान्तर गर्नु अनि आँफै घुमाउरो तरिकाले ठेकेदार बन्न मिल्छ कार्यपालिकाले ?
९, आफ्नो पाँच बर्षे कार्यकाललाई लक्षित गरेर गौरादह नगरको आर्थिक, सामाजिक, भौतिक चौतर्फी विकासको गुरुयोजना बनाउन र सार्बजनिक गर्न किन डराउछौ ? कि तिमीहरु संग कुनै दृष्टिकोण नै छैन ?
१०, खुल्ला दिसामुक्त नेपाल राष्ट्रिय अभियानको कार्यक्रम गौरादहमा किन र कसको कमजोरीको कारण सम्पन्न हुन सकेको छैन ? गौरादह कहिले खुल्ला दिसामुक्त हुन्छ ?
११, वडाकार्यलय तथा नगरकार्यपालिकाको कार्यलय किन सूचना मैत्री बन्न नसकेका हुन् ?
१२, सस्तो लोकप्रियताको लागि घाटा बजेट बनाउने अनि नियतबस योजना कार्यान्वयन नगरेर जनता कहिले सम्म झुक्याउछौ ?
१३, ल्याण्ड फिल्ड साइट व्यवस्थापन बापत छुट्याएको ७० लाख, नगरपालिका भवन निर्माणको लागि छट्याएको १ करोड ५० लाख, गौरादह पोखरी संरक्षण निर्माणको एक करोड, नगरपालिका भवन जाने बाटो निर्माणको २५ लाख, लगाएत दिर्घकालिन महत्वका नगरस्तरीय थुप्रै आयोजना कार्यन्वयन नगर्नुमा नगरकार्यपालिकाको चरम लापरवाही हो कि होइन ?

नगर कार्यपालिकाको चरम लापरबाहीको कारण औंलामा मात्र होइन घुंडामा ठेस लागिसक्यो अब मौन बसेर स्थानीय सरकारको बेथीतिलाई अनुमोदन गर्ने छैनन् जनताले ।

तपाईको प्रतिक्रिया