Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे ।

थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघिनै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे ।

थापाले डाडाँकाडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताए ।
अडियो डेढ महिना अगाडि सुनेको विषयमा प्रधानमन्त्रीले जे भनेपनि उनका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताए ।
थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना लगायतका ठेक्काका बारेमा पनि प्रश्न उठेको बताए ।

नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफूहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताए ।

प्रधानमन्त्रीको जन्मदिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताए ।

थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गरे ।रातोपाटी

तपाईको प्रतिक्रिया