Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

सुनसरी, १० माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना अप्रेसन ईआरसीपी प्रविधिको सेवा सफल रुपमा सुरु भएको छ ।

यो प्रविधिबाट पित्तनलीमा रहेको ढुंगा निकाल्ने, पित्तनलीको जाँच गर्ने, पत्थरीको ट्युमर परजीवी हेर्ने, नली साँघुरो भएको भए जाँच गरी स्टाण्ड राख्ने काम गरिने अस्पतालका ग्याष्ट्रोेलोजी एण्ड हेपाटोलोजी विभाग प्रमुख डा.विक्रम प्रधानले जानकारी दिनुभयो ।

डा.प्रधानका अनुसार अस्पतालमा ६ महिना अघिदेखि सुरु भएको ईआरसीपी प्रविधिबाट ७० जना भन्दा बढीले सेवा लिइसकेका छन् । यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई सजिलो हुने र जोखिम कम हुने बताइएको छ ।

वीर अस्पताल, टिचिङ अस्पताल र धुलिखेल अस्पतालमा मात्रै रहेको यो सेवा अब धरानमा पनि सुरु गरिएको डा।प्रधानले बताएका छन् । अस्पतालका ग्याष्ट्रोलोजी एण्ड हेपाटोलोजी विभागका डा।डेनिस पियुसका अनुसार पित्तनलीको क्यान्सर भएर साँघुरो भएको, अप्रेशन गर्न नमिल्ने, पत्थरी र जण्डिस भएका बिरामीहरूमा स्टाण्ड राख्नका लागि यो उपचार सेवा निकै प्रभावकारी हुने डाक्टरहरुको भनाइ छ ।

यो प्रविधिबाट ४ हजार रुपैयाँमै उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । डा.प्रधान भन्छन्, ‘हामीले सुरुवातमै ४ हजारमा सेवा दिइरहेका छौं । तर, यो सेवा ४ हजारमा दिन सकिदैन । अब १० देखि १२ हजारसम्म राख्नुपर्छ भन्ने लागिरहेको छ ।’

बाहिरका अस्पतालमा उपचार गराउँदा न्यूनतम ५० हजार रूपैयाँसम्म खर्च हुन्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ईआरसीपी उपचार प्रविधिबारे तालिमका लागि धुलिखेल अस्पताल पठाएर एकजना प्राविधिक समेत तयार गरिसकेको छ ।

वीपी प्रतिष्ठानमा ईआरसीपी सेवा सुरु भएसँगै एक नम्बर प्रदेश र २ नम्बर प्रदेशका विरामीहरुको काठमाडौं जानुपर्ने बाध्यता हटेको छ ।न्युज२४

तपाईको प्रतिक्रिया