काठ्माडौं, २० कार्तिक । प्रा.डा. गोविन्द केसीले कात्तिक १८ गते सोमबारबाट १७ औँ अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै बारम्बार सत्याग्रहमा सामेल हुँदै आएका डा. केसीको समग्रमा यो १७ औँ अनशन हो । यद्यपि सरकारी सेवाबाट अवकास पाएपछि उनको यो पहिलो अनशन हो । उनी हालै सेवानिवृत्त भएका हुन् ।
डा.केसीले १६ औँ पटकसम्म अनशन बस्दा सरकारले विभिन्न चरणमा गरेका सम्झौता कार्यान्वयन नभएपछि अनशन बस्न बाध्य भएको भन्दै १७ औँ अनशन थालेका हुन् । २०६९ असार २१ गते त्रिवि शिक्षण अस्पतालबाट पहिलो अनशन सुरु गरेका उनले १७ औँ अनशन डडेल्धुरामा एक व्यक्तिको घरमा सुरु गरेका हुन् ।
१६ औँ अनशनसम्म केसीलाई साथ दिदै आएका स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले १७ औँ अनशनसम्म आईपुग्दा फरक धारणा राख्न थालेका छन् । नेपालको चिकित्सा शिक्षा सुधारको लागि अब केसीले अनशनभन्दा पनि अन्य विकल्प लिनुपर्ने बताउँदै आइरहेका छन् । डा. केसीको उमेर पनि अब अनशन बस्न सक्ने अवस्थामा नभएको भन्दै चिकित्सा शिक्षा सुधारको लागि केसीले अरु नै स्वरुपमा राष्ट्रिय अभियान सुरु गर्नुपर्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।रातोपाटी






