Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

नयाँ दिल्ली,फाल्गुन २२ । भारतको त्रिपुरास्थित विधानसभा चुनावमा भारतीय जनता पार्टीले जितेपछि तोडफोड र हिंसक प्रदर्शन भइरहेको छ ।

सरकार गठन भन्दा पहिले त्रिपुरामा वामपन्थी स्मारक पनि भत्काइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार त्रिपुराको बेलोनिया सब डिभिजन रूसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको मूर्ति ढालिएको छ। यसको भिडियो पनि सार्वजनिक भएको छ । लेनिनको मूर्ति बुलडोजरको सहयोगमा ढालिएको हो ।

मूर्ति ढालिएका बेला ‘भारत माताकी जय’को नारा लगाइएको थियो । प्रहरीका अनुसार भाजपा कार्यकर्ताले बुलडोजर ड्राइभरलाई मदिरा पिलाएर मूर्तिलाई ढालेका हुन् ।

ड्राइभरलाई प्रहरीले गिरफ्तार गरेको छ । मूर्ति ढालिएको बुलडोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रिपुरामा लेनिनको मूर्ति ढालिएको स्थानमा धारा १४४ लगाएर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यस घटनाबारेमा दलहरुबीच चर्को आरोप प्रत्यारोप पनि सुरु भएको छ । भाजपा नेता र राज्यसभा सांसद सुब्रमण्यम स्वामीले पनि यसबारे टिप्पणी गरेका छन् ।

उनले लेनिनलाई विदेशी मात्रै संज्ञा दिएनन्, आतंकवादी भएको पनि आरोप लगाए । ‘यस्तो व्यक्तिको मूर्ति हाम्रो देशमा किन ?’, उनले प्रश्न गरेका छन्, ‘यो मूर्ति कम्युनिस्ट पार्टीको हेडक्वार्टरभित्र राखेर पूजा गरे हामीलाई आपत्ति छैन ।’

त्रिपुरामा २५ वर्षको वामपन्थी शासनपछि भाजपाले जित दर्ता गराएको छ । सीपीआई (एम) ले भाजपा र आईपीएफटीका कार्यकर्ता हिंसामा उत्रेर आक्रमण थालेको आरोप लगाएको छ ।

वामपन्थी पार्टीको कार्यालयमा तोडफोड गरिएको छ भने कार्यकर्तालाई घेरा हालेर आक्रमण भइरहेको छ । लेनिनको मूर्ति तोडिएपछि भारतका वामपन्थी दल र उनीहरुका कार्यकर्ता रुस्ट भएका छन् ।अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments