१९ साउन । कपाल रंग्याएर फरक लुक्स दिने इच्छा धेरैले राखेका हुन्छन् । उमेर, पेसा र फेसन ट्रेन्डलाई आधार मानेर कपालमा फरक–फरक रङ हालेको पाइन्छ । तर, कपाल रंग्याउन सौखिनमध्ये अधिकांशले सोचेका हुँदैनन् कि रङमा हुने केमिकलले हानि पनि पुर्याउन सक्छ । कतिपय रङमा हुने केमिकलको हानि कपालमा मात्रै होइन, छालासम्म पनि पर्न सक्छ । त्यसैले हेयर कलरिङ गर्नेले निम्न कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।
कपालको संवेदनशीलताको जाँच
कपालमा रङ लगाउनुपूर्व कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने जरुरी छैन । तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ । प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरू उठ्ने जस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन । प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरैथोरै मिसाएर नाडी, कानको पछाडि लगाएर पाँचदश मिनेटपछि पुछ्ने र २४ घण्टासम्म साइड इफेक्ट वा एलर्जी हुन्छ वा हुँदैन, त्यो हेरेर मात्र कलर गर्नुपर्छ ।
रातो र निलो हेयर कलरिङ नगर्दा बेस
कतिपयले रातो र निलो हेयर कलरिङ गरेको पनि पाइन्छ । तर, कलरिङको सौखिनले यी दुई कलर प्रयोग नगर्नु नै उत्तम हुन्छ । रातो र निलो रङ कपालमा टिकाउ हुँदैन । चाँडै खुइलिने यी रङ कपालमा लगाएको केही दिनमै फुङ्ग उडेजस्तो देखिन्छ ।
क्वालिटी प्रोडक्ट रोज्नुहोस्
कपाल रंग्याउने रहरले मात्रै हुँदैन । रङ लगाउनु भनेको कपालमा केमिकल भित्र्याउनु हो । कपालमा केमिकलको नकारात्मक असर जरुर पर्छ । केमिकलको असर छालामा पनि पर्छ । यसलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा सजग हुनैपर्छ । त्यसैले कपाल रङ्ग्याउन विश्वासिलो र जानकार एक्सपर्टको पार्लरमा जानुहोस्, ताकि गलत प्रोडक्टको सिकार हुन नपरोस् । कपालमा लामो समयसम्म टिक्ने, तर कपाल तथा छालामा नकारात्ममक असर पनि नगर्ने प्रोडक्ट
प्रयोग गर्नुहोस् ।
घामबाट जोगाउनुहोस्
रंगीन कपाललाई चर्को कामको किरण र वातावरणीय प्रदूषण घातक हुन्छ । त्यसैले घरबाट बाहिरी वातावरणमा निस्किँदा रंगीन कपाल हुनेले विशेष ख्याल पुर्याउनैपर्छ । घामको चर्को किरणले रङ उड्ने खतरा हुन्छ । बाहिरी प्रदूषणले पनि कपाल ड्यामेज गर्न सक्छ । महिलाले ड्रेसअनुसार स्कार्फ या ह्याट र पुरुषले क्याप लगाउनु ठीक हुन्छ ।
स्याम्पुको छनौट
कपाल कलरिङ गरिसकेपछि साधारण स्याम्पुले धुने विगतलाई बदल्नैपर्छ । साधारण स्याम्पुले कलरलाई उडाइदिने तथा बिगारिदिने गर्छ । रङ प्रयोग गरिएको कपालकै लागि भनेर बजारमा स्याम्पु, कन्डिसनर र सिरम उपलब्ध छन् ।
नबिर्सनुहोस् कन्डिसनर
रंग्याएको कपाल स्याम्पु गरिसकेपछि त्यत्तिकै छोड्नु उत्तम हुँदैन । किनभने, रंग्याएको कपाल स्वाभाविक रूपमा रुखो र कठोर बनेको हुन्छ । यस्तो कपाललाई कन्डिसनर अत्यावश्यक पर्छ । त्यो पनि विशेष कन्डिसनर । रङ लगाएको कपाल नुहाएपछि कन्डिसनर गरिएन भने फुस्रो हुने तथा टुक्रिने खतरा रहन्छ । कपालमा रङको चमक पनि आउँदैन ।एजेन्सी






